भोलिदेखि जोरविजोर प्रणाली लागू

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०७७, २२ : ४८
भोलिदेखि जोरविजोर प्रणाली लागू

काठमाडौँ । नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार शुक्रबारदेखि जोरविजोर प्रणाली लागु हुने भएको छ । 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबारदेखि काठमाडौँ उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने छ ।

उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले भोलिदेखि सञ्चालन हुने जोर विजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाइने बताए । 

जसअनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र २ पाङ्गे सवारी साधन ( मोटरसाईकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाईने बताए ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ । 

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन भने रोक लागाईएको छ ।

तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाईने छैन । यस अघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्न पाउने कुरा महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस