नेपालमा कोरोनाबाट मृत्यु : पन्ध्रमध्ये दस जनाको मरेपछि संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०७७, १७ : ३१
नेपालमा कोरोनाबाट मृत्यु : पन्ध्रमध्ये दस जनाको मरेपछि संक्रमण पुष्टि

फाइल फाेटाे

काठमाडौँ । सरकारले पिसिआर परीक्षणलाई द्रुत र व्यापक बनाउन नसक्दा नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु भएकाहरुमध्ये दुईतिहाईमा मृत्युपछि मात्रै कोभिड संक्रमण पुष्टि भएको छ । 

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका १५ जनामध्ये पाँच जनाको मृत्युअघि र १० जनाको मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य संगठनले कुनै पनि व्यक्तिको अन्य रोगका कारण मृत्यु भएपनि उक्त व्यक्तिमा संक्रमण देखिएपछि संक्रमणकै कारण मृत्यु भएको घोषणा गर्ने गरेको छ ।

नेपालमा कोरोनाको मृत्यु खाता यस्तो छ,

पहिलो मृत्यु : सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ १ गते मृत्यु भयो । श्वासप्रश्वासमा समस्या उत्पन्नपछि अस्पतालमा भर्ना हुँदै गर्दा महिलाको मृत्यु भएको थियो । मृत्यु भएको तीन दिन पछाडि (जेठ ३ गते) स्वास्थ्य मन्त्रालयले महिलाको मृत्यु संक्रमणका कारण भएको भन्दै विज्ञप्ति सार्वजनिक गर्‍यो। मृतक महिला वैशाख २६ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् ।

दोस्रो मृत्यु : जेठ ४ गते बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु भयो । युवकको मृत्य हुनु भन्दा अघिल्लो दिन परीक्षणका लागि स्वाब संकलण गरिएको थियो। मत्यु पश्चात उनको रिपोर्ट पोजेटिभ आएको थियो । जेठ ३ गते रातिबाट युवकलाई ज्वरो तथा झाडापखाला लागेपछि स्वास्थ्यमा समस्या देखिएको थियो । उनी भारतबाट वैशाख ३० गते नेपाल फर्केका थिए ।

तेस्रो मृत्यु : जेठ ८ गते रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिका पुर्कोटका ४१ वर्षीय पुरुषको मृत्यु भयो । उनी जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भए लगत्तै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो। जेठ ५ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

चौथो मृत्यु : जेठ २ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा बाराको करैयामाई गाउँपालिका– ७ का ७० वर्षीया वृद्धा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भए। शंकास्पद भएका कारण उनको सोही दिन स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो। आइसीयूमा उपचाररत वुद्धाको जेठ ४ गते मृत्यु भयो । मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका थिए। तर उनको रिपोर्ट ९ दिनपछि अर्थात जेठ १२ गते पोजेटिभ आयो ।

पाँचौं मृत्यु : जेठ ११ गते ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएका ललितपुर महानगरपालिका– २२ बुङमतीका ५७ वर्षीय पुरुषलाई आईसीयूमा राखिएका उपचार सुरु गरिएको थियो। फेरि जेठ १२ गते भेन्टिलेटरमा सारिएको थियो। भेन्टिलेटरमा राखेपछि उनको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो। तर जेठ १४ गते दिउँसो उनको मृत्यु भयो। उनको पीसीआर रिपोर्ट मृत्युपछि पोजिटिभ आएको थियो ।

छैटौं मृत्यु : जेठ १० गते भारतबाट फर्किने क्रममा बोटोमै अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुषको मृत्यु भयो। संक्रमणका कारण उनको मृत्यु भएको भन्दै स्वास्थ्य मन्त्रालयले जेठ १५ गते पीसीआर रिपोर्ट पोटेभ आएको भन्दै भालिपल्ट मन्त्रालयले घोषणा गरेको थियो ।

सातौं मृत्यु : जेठ १७ गते दैलेखमा क्वारेन्टिनमा दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भयो। मृत्यु हुन भन्दा तीन दिन अगाडि उनको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण देखिएका उनी लक्षण बिहिन थिए। जेठ ७ गते उनी भारतको गुजरातबाट नेपाल फर्केका थिए ।

आठौं मृत्यु : जेठ १५ गते स्वास्थ्यमा समस्या आएपछि बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकालाई बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरियो। तर जेठ १८ गते आइसोलेसनमै उनको मृत्यु भयो। मृत्यु भएपछी बालिकाको स्वाब संकलन गरि परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। मृतक बालिका बुवा आमासँग भारतबाट फर्किएकी थिइन् ।

नवौँ मृत्यु : जेठ १३ गते दोलखाका ७६ वर्षीय वृद्धा उपचारका लागि काडमाडौँ मेडिकल कलेजमा भर्ना भए। भर्ना भएकै दिन मष्तिकघात भएका कारण तुरुन्तै शल्यक्रिया गरिएको थियो। शल्यात्रिया गर्नु अगाडि उनको आरडीटी पोजेटिभ आएको थियो। शंकास्पद भएकाले स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो। शल्यक्रिया भएको ४ दिन पछि उनको पीसीआर रिपोर्ट समेत पोजेटिभ आएको थियो। रिपोर्ट पोजिटिभ आएसँगै उनलाई त्रिवि शिक्षण अस्पताल सारिएको थियो। तर जेठ २१ गते दिउँसो उपचारकै क्रममा उनको मृत्यु भयो ।

दसौँ मृत्यु : जेठ १७ गते भारतबाट नेपाल फर्केका पाल्पाको पूर्वखोला गाउँपालिका ४५ वर्षीय पुरुषलाई स्वासप्रश्वास समस्या देखिएपछि मिसन अस्पतालमा भर्ना भरिएको थियो। जेठ २० गते उनको मृत्यु भएको थियो । मृत्यु भएपछि परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। जेठ २२ गते उनको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै उनको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको थियो ।

एघारौँ मृत्यु : जेठ ७ गते भारतबाट फर्केका सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसेका २१ वर्षीय युवक १४ दिन क्वारेन्टाइनमा बसे। क्वारेन्टाइन बसेका उनको आरडीटी नेगेटिभ भएपछि २१ गते दिउँसो घर फर्किए । तर जेठ २२ गते बिहान युवकको मृत्यु भयो । मृत्यु भएपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा जेठ २३ गते उनको रिपोर्ट पोेजेटिभ आएको थियो। क्वारेन्टाइनबाट घर फर्किएका युवकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

बाह्रौँ मृत्यु : जेठ १८ गते डोल्पाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुष नेपालगञ्जबाट घर पुगेर होम क्वारेन्टाइनमा बसिरहेको अवस्थामा मृत्यु भयो। मृत्युपछि जेठ २० गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जेठ २४ गते मन्त्रालयले उनको रिपोर्ट पोजटिभ भएको भन्दै कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको थियो। मृतक लामो समयदेखि दम रोगका थिए ।

तेह्रौँ मृत्यु : जेठ २३ जेठ दिउँसो सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा धनगढी उपमहानगरपालिका– ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो। अन्त्येष्टिअघि परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। जेठ २४ गते उनको रिपोर्ट पोजेटिभ आएको भन्दै मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको थियो। मृतक लामो समयदेखि मृगौला सम्बन्धी समस्यबाट पीडित थिइन् ।

चौधौँ मृत्यु : स्याङ्जा वालिङ नगरपालिकाका ६० वर्षीय पुरुष लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। ६ महिना अघि उपचारका लागि भारतको मुम्बई गएर जेठ २१ गते नेपाल फर्किएका उनलाई जेठ २२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। प्रतिष्ठानको प्रिआइसोलेसन वार्डमा राखेर स्वाब परीक्षण गर्दा जेठ २५ गते पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । तर जेठ २६ गते साँझ उनको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठान पुष्टि गरेको थियो ।

पन्ध्रौँ मृत्यु : जेठ २७ गते बिहान भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका– ११ सामनाटोलका ६८ वर्षीय वृद्धको मृत्यु भएको थियो । भरतपुरको नारायणी सामुदायिक अस्पताल भर्ना भएका उनको जेठ २३ गते परीक्षणका लागि नमुना संकलन गरिएको थियो। जेठ २६ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई सोही दिन साँझ भरतपुर अस्पतालमा सारिएको थियो । संक्रमित भएका उनलाई निमोनिया पनि भएको चिकित्सकले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस