काठमाडौँ । ‘कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका तीन युवकले आफ्नो अनुभव सुनाउनुभयो ।
सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीका ३५ वर्षीय अमरनाथ मण्डल, डाकनेश्वरीनगरपालिका–४ पट्टी प्रवाहाका २२ वर्षीय रामकुमार मुखिया र डाकनेश्वरी नगरपालिका–८ भुतहीका ३५ वर्षीय जसोलाल रामको पिसीआर नेगेटिभ आएपछि उहाँहरुलाई बुधबार बिदा गरिएको हो । राजविराजस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उहाँहरुको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो ।
मण्डल भारतको हरियाणाबाट, मुखिया मुम्बइबाट र राम दिल्लीबाट फर्किएका हुन् । तीनै जना फरक–फरक ट्रकमा भएर आएका थिए । कोरोना पोजिटिभ भएको जानकारीले शुरुमा निकै अत्तालिए पनि घरपरिवारका सदस्यले र आइसोलेसनमा ल्याएपछि स्वास्थ्यकर्मी, नर्सले निकै हौसला दिनुभएको रामले बताउनुभयो ।
आइसोलेसनमा ल्याएको पहिलो दिन पानी र चियानास्ता नपाए पनि त्यसपछि कुनै असुविधा नभएको उहाँले बताउनुभयो । आत्मबल बलियो बनाउने काम भएमा कोरोनालाई सजिलै पछार्न सकिने अनुभव सुनाउँदै उहाँले अरुलाई पनि आवश्यक्ताभन्दा बढी नडराउन बरु सतर्क रहन आग्रह गर्नुभयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दास, गणपति गुप्तबहादुर कुँवर, डा रणजितकुमार झा, सिनियर स्टाफ नर्स कृष्णा यादव, सिनियर अहेव शिवनारायाण चौधरीलगायतले तीनै जनालाई टीका र खादा लगाइ फूलको गुच्छा दिएर बिदा गर्नुभयो । डा दासले कोरोनालाई आत्मबलले जित्नुपर्ने र सकारात्मक सोच राख्नुपर्ने बताउनुभयो । यो समेत सप्तरीबाट सङ्क्रमण मुक्त हुने चार जना पुगेका छन् ।
बुधबार तीन युवकको बिदाइपछि छिन्नमस्ता गाउँपालिका–२ स्थित रमपुरा क्वारेन्टिनमा होल्डिङ गरी राखिएका चार जनालाई राजविराजस्थित आइसोलेसन सेन्टर ल्याइने भएको छ । सप्तरीमा हालसम्म ११२ सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
आइसोलेसन सेन्टरमा १०३ मात्र श्यया रहेको छ । बुधबार सङ्क्रमण पुष्टि भएका छिन्नमस्ता गाउँपालिकाका ६ जनालाई हाल सोही क्वारेन्टिनमा राखिने र आइसोलेसन श्ययाको व्यवस्था भएपछि सारिने डा झाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ जेठ २०७७, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा १० महिनापछि देखियो कोरोना
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो
कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्दो
कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउनेहरूको सङ्ख्या बढ्यो