काठमाडौँ । विद्युत् खपत कम भएर रातको समयमा दैनिक एक करोड मूल्य बराबरको विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निजी र प्राधिकरणका विद्युत् आयोजनाले अहिले निरन्तर ९ सय मेगावाट विद्युत् उत्पादन गरिरहेका छन् ।
तर रातको समयमा भने विद्युत् माग ७ देखि ८ सयको हाराहारीमा मात्रै रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘पानी परेका बेला रातको समयमा झन् विद्युत् माग घटेर ४ सय मेगावाट हाराहारीमा झर्छ,’ उनले भने, ‘रातको समयमा औसत १ करोड बराबरको विद्युत् खेर गइरहेको छ ।’
अहिले निजी क्षेत्रका आयोजनाबाट ४ सय ५० मेगावाट र कुलेखानी जलाशययुक्त आयोजना सञ्चालन नगर्दा पनि प्राधिकरणका आयोजनाबाट पनि ४ सय ५० मेगावाट विद्युत् चौबीसै घण्टा उत्पादन भइरहेको छ ।निजी क्षेत्रको विद्युत् आयोजनाको जडित क्षमता ७ सय मेगावाट भए पनि पानी कम भएका कारण अहिले ४ सय ५० मेगावाट हाराहारीमा मात्रै उत्पादन भएको घिसिङले बताए । ‘असार १५ देखि मसान्तसम्म निजी क्षेत्रका आयोजनाबाट कम्तीमा पनि ६ सयदेखि साढे ६ सय मेगावाट विद्युत् उत्पादन हुन्छ,’ उनले भने, ‘साउनतिर खेर जाने विद्युत्को परिणाम बढ्नेछ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २८ जेठ २०७७, ०७ : ३६
लेखकबाट थप