बजेट पछि के प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गर्दैछन् ?

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०७७, १० : १४
बजेट पछि के प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गर्दैछन् ?

सांकेतिक तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्ताको तालाचाबी समातेको २८ महिना बितिसकेको छ । जनअपेक्षा अनुसार काम गर्न नसकेको भनी आलोचना भईरहेका बेला प्रधानमन्त्री ओलीले फेरि सरकारमा सहभागी मन्त्रीहरु हेरफेरको भित्री तयारी गरेका छन् ।  

पार्टीसँग सल्लाह बिनै अध्यादेशहरु जारी गरेका कारण झण्डै आफ्नै पद समेत धरापमा पारेका ओलीले आफु माथी आईपरेको उक्त संकटलाई अस्थायी रुपमा टार्न त सफल भएका छन । तर उनका मन्त्रीहरु भने के सबै टिकिरहलान् ? अहिले प्रश्न उठेको छ । कोभिडको मौका छोपेर औषधी तथा स्वास्थ्य उपकरणमा अनियमितिताको आरोप उनकै क्याबिनेटका मन्त्रीहरुलाई लागेको छ । अन्य कतिपय मन्त्रीहरु पनि प्रभावकारी काम देखाउन नसकेको भनी निरन्तर आलोचित छन् । 

पार्टीले पनि सरकारको समिक्षा गरी काम गर्न सक्नेलाई मन्त्री बनाउनु पर्ने दबाब उत्तिकै बढ्दो छ । यो बेला उनले मन्त्रीमण्डल हेरफेरको भित्री तयारी गरेको बालुवाटार स्रोतले बताएको छ । यस अगाडी सामान्य रुपमा हेरफेरको नीति लिएपनि उनले २८ महिनाको बीचमा गत मंसिरमा आधा दजर्न मन्त्रीहरु हेरफेरको निर्णय लिएका थिए । त्यसपछि अहिले उनले ठूलै संख्यामा हेरफेरको तयारी थालेको बालुवाटार स्रोतले बतायो ।

ओलीले पार्टी सचिवालयका दुई सदस्य मध्ये उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा (बादल) मध्ये एकलाई राख्ने, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री कार्यालय तथा संसदीय मामिला हेर्ने गरी कार्यविभाजनमा विभागियमा लैजाने र योगेश भटटराईलाई भने निरन्तरता दिने योजना बनाएका छन् । अन्य मन्त्रीहरु पूरै हेरफेर गर्ने की राख्ने भन्नेमा उनी छलफलमा रहेको स्रोत बताउँछ ।

गत मंसिरमा हेरफेरमा परेर आएकालाई राख्ने र अन्यलाई भने फेर्नेकी भन्ने विकल्पमा पनि उनी छलफलमा जुटेका छन् । मन्त्रिमण्डल हेरफेर गर्दा आफुसँग असन्तुष्ट पक्षका माधव नेपाल पक्षका नेताहरुलाई पनि समेटेर लैजान उनले प्रयास गर्ने स्रोत बताउँछ । त्यसो गर्दा उनले आफ्नो कुर्सीमाथी आईपर्न सक्ने जोखिम टार्न बल पुग्ने पनि ठानेका छन् । त्यसका लागि उनले बजेट लगत्तै क्याबिनेट हेरफेरको तयारी भित्री रुपमा गरेको स्रोत बताउँछ ।

ओलीले कोभिड १९ रोकथाम र नियन्त्रण, एमसीसी विवाद समाधान देखि भारतसँगको सिमा विवादका विषय सल्टाउनु पर्ने चुनौतीपूर्ण मोडमा छन् । सोही चुनौतीलाई ओलीले अहिलेकै क्याबिनेटबाट समाधान गर्न सक्ने ठानेका छैनन् । सोही कारण पनि ओलीले क्याबिनेट हेरफेर गर्ने योजना बनाएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडालाई भने अब ओलीले निरन्तरता नदिने योजना बनाईसकेका छन् । उनले लगातार तिन वर्षको बजेट ल्याउने अवसर डा. खतिवडालाई दिलाएका थिए ।

अब भने उनलाई पनि बजेट पारित भएसँगै बिदा गर्ने योजनामा प्रधानमन्त्री छन् । खतिवडाले यो पटकको बजेट गै¥ह सांसदका रुपमा प्रस्तुत गरेका हुन् । उनको पदावधी गत माघ २० मै सकिएको थियो । संविधान अनुसार अबको २ महिनाभित्र उनी सांसदका रुपमा नदोहोरिए  स्वतः उनको पद खुस्कने छ । त्यही कारण पनि खतिवडालाई अबको दुई महिना आफ्नो पदमा टिक्नका लागि पनि ओलीसँग साँठगाँठ गहिरो बनाउनु आवश्यक छ ।

तर खतिवडाको ब्यवहार अन्य नेताहरुलाई चित्त बुझेको छैन् । उनले बजेटमा एमसीसीलाई समेटेर ल्याएपछि नेताहरु उनीसँग आक्रोशित छन् । जसकाकारण पार्टीका अन्य नेताहरु उनलाई निरन्तरता दिने पक्षमा उभिने सम्भावना कमै छ । ओलीले क्याबिनेट पूर्नगठन गर्ने भित्री तयारी गरेको थाहा पाएर अहिले उनी निकट केही नेताहरु भने दौडधुपमा समेत लागिसकेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस