डायलसिसमा चरम लापर्बाही , ५ सातामा ७ को मृत्यु

पत्रपत्रिकाबाट

बुधबार, २१ जेठ २०७७, ०७ : २८
डायलसिसमा चरम लापर्बाही , ५ सातामा  ७ को मृत्यु

फाईल फोटो

वीरगन्ज । पर्साको बहुदरमाई गाउँपालिका–७ भौराटारका २७ वर्षीय कृष्ण ठाकुरले गत वैशाख ३० मा वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा डायलसिस गराए । डायलसिसपछि घर फर्किएका ठाकुरको स्वास्थ्य अचानक बिग्रियो । उनलाई पुन: नेसनलकै आईसीयूमा भर्ना गरियो । अन्तत: जेठ ५ मा उनको मृत्यु भयो ।

सरकारले नारायणी अस्पताललाई लेभल–२ स्तरको कोभिड–१९ अस्पताल घोषणा गरेपछि सरकारकै सिफारिसमा त्यहाँ डायलसिस गराइरहेका बिरामी पनि उपचारका लागि नेसनल जाँदै आएका छन् । कृष्णका भिनाजु सन्तोष ठाकुरका अनुसार नेसनलमा डायलसिस गरेको पहिलो पटकदेखि नै उनको स्वास्थ्य बिग्रिन थालेको थियो । ‘नारायणी अस्पतालमा करिब ४ वर्षसम्म डायलसिस गराउँदा कुनै गम्भीर समस्या आएको थिएन,’ सन्तोषले भने ।

उनका अनुसार नारायणीबाट नेसनलमा डायलसिस गराउन आएका अन्य बिरामीभन्दा २७ वर्षीय कृष्ण तन्दुरुस्त नै थिए । नारायणीमा डायलसिस गराउँदा उनी एक्लै १९ किलोमिटर टाढा रहेको घरबाट वीरगन्ज आइपुग्थे । ‘नेसनलका चिकित्सक यहाँको डायलाइजरको रसायन नारायणीको भन्दा फरक भएकाले समस्या आएको र केही दिनमा बिरामी सुहाउँदो भइहाल्छ भन्थे,’ सन्तोषले भने, ‘तर रसायन बिरामी सुहाउँदो बनाउँदा–बनाउँदै उसको ज्यानै गयो ।’

गत वैशाख ९ मा वीरगन्ज महानगरपालिका–१२ मुर्ली नैयका टोलका ४५ वर्षीय नासरिन बानो श्रीमान् मोहम्मद कलाम शेखलाई साथमा लिएर डायलसिसका लागि नेसनल पुगिन् । ‘डायलसिस गर्दागर्दै अवस्था गम्भीर भएपछि उनलाई आकस्मिक कक्षमा लगियो,’ शेख भन्छन्, ‘आकस्मिक कक्षमा पुर्‍याएको केही समयभित्रै उनको मृत्यु भयो ।’ नारायणीमा डायलसिस गराउँदासम्म श्रीमतीको स्वास्थ्य स्थिर रहेको उनी बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस