राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेरिँदै , नेकपा प्रदेश सांसदलाई गलैँचा फेर्ने ठेक्का

पत्रपत्रिकाबाट

सोमबार, १९ जेठ २०७७, ०७ : ४४
राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेरिँदै , नेकपा प्रदेश सांसदलाई गलैँचा फेर्ने ठेक्का

काठमाडौँ । देश कोरोना भाइरसविरुद्ध संघर्षमा रहेको वेला महँगा गाडी नकिन्ने भनेर बजेट फिर्ता गरेको राष्ट्रपति कार्यालयले गलैँचा फेर्न भने एक करोड खर्च गर्दै छ । तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा राखिएका गलैँचा फालेर कोठाहरू भव्य बनाउन थालिएको छ ।

राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने ठेक्का पाएको हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङको हो । उनी तनहुँ–१ (क) बाट निर्वाचित भएका हुन् । 

कम्पनीले लकडाउनमा पनि गलैँचा बुन्ने काम धमाधम गरिरहेको छ । राष्ट्रपति कार्यालयको दुईवटा ठूला हलका लागि मात्र करिब ३०-३० लाख रुपैयाँ पर्ने गलैैँचा राख्न लागिएको छ । त्यस्तै, अन्य कोठाहरूमा करिब ४० लाखको गलैँचा राख्ने तयारी छ । 

‘दुई ठूला हलका लागि विशेष खालको गलैँचा बनाउने काम फ्क्याट्रीमा भइरहेको छ,’ हिमालय डेकोरकी प्रबन्धक शोभा गुरुङले भनिन्, ‘नेपाली मौलिकता झल्कने गरी बनाउन लागिएको छ, भव्य र मौलिक बनाउन लागिएकोले लगानी पनि त्यहीअनुसार लाग्ने हो ।’ 

विदेशी अतिथिहरू आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढ्ने गरी महँगो गलैँचा बिछ्याउन लागिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘राष्ट्रपतिको व्यक्तिगत रुचि होइन । नेपाली गलैँचाको प्रवद्र्धन हुने गरी विशेष खालको गलैँचा राख्न थालिएको हो, फेरि विदेशी पाहुना आउँदा देशको प्रतिष्ठा पनि महत्वपूर्ण हुन्छ ।’

‘राष्ट्रपतिको व्यक्तिगत रुचि होइन’
राष्ट्रपति ०७३ माघमा मात्र शीतलनिवासभित्रकै नयाँ भवनमा सरेकी हुन्, ४० महिनामै महँगो गलैँचा फेर्न थालिएको हो । लकडाउनअघि नै थालिएको प्रक्रिया रद्द गर्न नसकिएको राष्ट्रपति कार्यालयको भनाइ छ । ‘यो राष्ट्रपतिको व्यक्तिगत रूचि होइन, मौलिकता झल्काउने गलैँचाले देशको प्रतिष्ठा बढाउँछ भनेर राख्न थालिएको हो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने । नयाँ पत्रीका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस