जयश्री खोलाले कल्भर्ट बगाएपछि गैंडाकोट ७ का बासिन्दा समस्यामा, तत्काल बाटो सुचारु गराउन नगरपालिकासँग आग्रह

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०७७, १८ : १०
जयश्री खोलाले कल्भर्ट बगाएपछि गैंडाकोट ७ का बासिन्दा समस्यामा, तत्काल बाटो सुचारु गराउन नगरपालिकासँग आग्रह

नवलपुर । गैंडाकोट नगरपालिका वडा नम्वर ७ को राजमार्गमा जोड्ने मुख्य बाटो अवरुद्ध भएपछि स्थानीयहरु समस्यामा परेका छन् । आइतबार आएको पानीका कारण जयश्री खोलामा आएको बाढीले जयश्री खाद्य उद्योग पछाडि खोलामा हालिएको कल्भर्ट भत्काएपछि बाटो अवरुद्ध हुँदा स्थानीयहरुलाई ठूलो समस्या भएको हो । राजमार्गमा निस्कन निकै छोटो बाटो भएपनि खोलामा कल्भर्ट नहँुदा बाटो हिड्न समस्या भएपछि स्थानीयहरुले शिवशंक्ति तेल एण्ड रिफाइनरी प्रा.लिका सञ्चालक दिपक सापकोटाको नेतृत्वमा रकम संकलन गरी स्थानीयकै सहभागितामा त्यहाँ गत मंसिरमा कल्भर्ट हालेका थिए ।  

कल्भर्ट हालेसँगै यात्रा गर्न धेरै सहज र राजमार्गमा निस्कन निकै छोटो बाटो बनेकोमा अहिले खोलाले कल्भर्ट भत्काएपछि स्थानीयलाई यात्रा गर्न निकै समस्या भएको उद्योग वाणिज्य संघ गैंडाकोटका वरिष्ठ उपाध्यक्ष तथा शिवशंक्ति तेल एण्ड रिफाइनरी प्रा.लिका सञ्चालक उद्योगी दिपक सापकोटाले बताउनु भयो । 

यो कल्भर्ट भत्किएपछि गैंडाकोट ७ का स्थानीयहरु अर्काे वैकल्पिक घुमाउरो लामो बाटो हिँडेर राजमार्गमा निस्कनु पर्ने समस्यामा परेको उहाँ बताउनु हुन्छ । 

सो स्थानमा पक्कि पुल बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरेपनि सम्बन्धित निकायले निर्माणमा पहल नगरिदिँदा त्यो बजेट पनि फ्रिज हुने अवस्थामा पुगेको सापकोटाको भनाइ छ । भत्किएको कल्भर्ट मर्मत गरी स्थायी व्यवस्थित बाटो बनाउन स्थानीयले नगरपालिकासँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस