Safal Khabar - धानको बीउ नपाउँदा अन्नको सङ्कट बढ्ने त्रास
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
धानको बीउ नपाउँदा अन्नको सङ्कट बढ्ने त्रास
शनिबार, १७ जेठ २०७७, ०८ : ०९
धानको बीउ नपाउँदा अन्नको सङ्कट बढ्ने त्रास
फाईल फोटो

काठमाडौं । मध्य जेठ कटुञ्जेलसम्म धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्यबाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्न सक्ने आशङ्काले पिरोलिएका हुन् । 

यसपालि वैशाखी तरकारी लकडाउनले बजार पु¥याउन नसकेर बोटमै बुढिनु, मकैबाली फौजी किराले सखाप पार्नु, फलपूmल हावाहुरीले सोत्तर पारेर झार्नु र त्यसपछि धानको बीउ नपाएपछि मन कसरी अड्याउने भन्ने किसानको गुनासो छ । जेठ मध्य कटिसक्दासम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाइँ गर्न नभ्याइने हो कि भन्ने किसानको आशङ्का छ । कोरोना सन्त्रास छल्न जारी लकडाउनले कृषि सामग्रीका बजार नखुल्दा अहिले धानको बीउ नपाएर किसानको पिरलो बढेको हो ।

असार पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाइँ शुरु हुने भए पनि अहिलेसम्म धानको बीउको जोहो नै नहुँदा यसपालि ठिक समयमा खेती लाग्न नसक्ने किसानको चिन्ता छ । “जेठ आधा कट्यो, धानको बीउ पाइएको छैन”, जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान रामचन्द्र राय भन्नुहुन्छ, “यसपालि खेतीको सबै तालिका भताभुङ्ग भयो, समयमै धान रोपाइँ गर्न नपाइन पो हो कि भन्ने  परिसक्यो  ।” मध्य जेठमा धानको बीउ ब्याडमा राखिसक्नु पर्नेमा आपूmहरु अझै बीउ नपाएर झोक्राउनुपरेको रायको भनाइ छ ।

Yeti Diistillery

जिल्लाको मुख्य फसल (बाली) धान लगाउने टुङ्गो नभएपछि किसान घर गुजाराको चिन्ताले पिरोलिएका छन् । पहिले–पहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिकन बीउकै लागि बजारको मुख ताक्नुपरेको किसानको भनाइ छ ।

“हामीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहितका दर्जनौँ धानका जात हुन्थे”, भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८० वर्षीय किसान जितन यादव भन्नुहुन्छ, “विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ ।” पछिल्ला दुई दशकयता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा धान नपाएर गलफती पर्ने गरेको यहाँका आम किसान बताउँछन् ।

विकासे धान लगाउन थालीकन वर्षेनीजस्तो जात फेरिने गरेको किसानको अनुभव छ । “यो पो राम्रो भन्छन्, अनि त्यही लगाइयो”, भङ्गाहा–४ रामनगरका ७० वर्षीय किसान इस्लाम राइन भन्नुहुन्छ, “कुन–कुन जातका धान लगाइयो नाम याद छैन, बीउ बजारकै भर पर्न पर्ने ! यसपालि लकडाउनले बीउ नपाउँदा धानखेती के हुने भन्ने चिन्ता छ ।”

जिल्लामा जिल्ला कृषि विकास कार्यालय होउञ्जेल तिनका मातहतका कृषि केन्द्र र उपकेन्द्रमा कृषि प्राविधिक बस्ने र बेलाबेला खेतीबारे परामर्श लिन पाउने दिन पनि गएका किसानको गुनासो छ । “गाउँमा सिंहदरबार पुगेको कुरा मात्र भयो, हाम्रा कुनै स्थानीय तहले कृषि शाखा चलाउन सकेनन्”, लगन, मेहेनत र उत्पादन लिन जिल्लामै कहलिएका भङ्गाहा–४ कै किसान सत्यनारायण यादव भन्नुहुन्छ, “जिल्ला कृषि विकास कार्यालय हुँदा विषयपिच्छेका विज्ञ (बाली, फलपूmल, तेलहन, मत्स्य) थिए, अहिले कहाँ हराका होलान् भन्ने लाग्छ, पछिल्लोपटक गाउँमा सिंहदरबार पु¥याउने कुराले कृषि क्षेत्रका संरचना हटाइँदा सबै भताभुङ्ग बढ्यो ।” खेतीपातीबारे बोलाएर राय सल्लाह दिने, हेरिदिने अब पछिल्ला स्थानीय तहको निर्वाचन भएयता कोही नभेटिएका यादव विरक्तिँदै बताउनुहुन्छ ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये कुनैले कृषि शाखा सञ्चालन गरेर विज्ञहरुबाट किसानलाई सल्लाह दिने, बालीनाली हेरिदिने, कृषि सामग्रीको  बजार व्यवस्थापन गर्ने र किसानकै गुनासो सुन्ने ठाउँ कतै नबनेको जिल्लाका आम किसानको गुनासो छ । 

जिल्ला कृषि विकास कार्यालय विघटन गरिएपछि अहिले महोत्तरी र सर्लाही कार्यक्षेत्र रहने गरी स्थापित कृषि ज्ञान केन्द्र मलङ्गवा (सर्लाही)ले धानको बीउबारे किसानलाई कुनै अपिल गरेको छैन ।  बीउ नपाएर छट्पटाएका बेला कुनै कृषिसम्वद्ध कार्यालय र आफ्नै स्थानीय तहको सोधखोज नपाएपछि अहिले किसान बिरक्तिएका छन् ।

यसैबीच कृषि ज्ञान केन्द्र मलङ्वाका निमित्त प्रमुख देवानन्द राय यादवले धानको बीउ खरिद बिक्रीको इजाजत लिएका एग्रोभेट सञ्चालकले उचित मूल्यमा किसानलाई उपलब्ध गराउने व्यवस्था रहेको बताउनुभयो । यस्ता एग्रोभेट सञ्चालकले किसानलाई लकडाउनकै अवधिमा पनि शारीरिक दूरी र अन्य सुरक्षा उपाय अपनाएर दिनपर्ने व्यवस्था छ । बीउ राख्ने ठिक्क बेलामा सामग्री लुकाउने, बढी मूल्य लिने वा अन्य समस्या देखिएमा स्थानीय प्रशासन र स्थानीय तहले अनुगमन गरेर यस्तालाई कारवाही गर्न सक्ने यादवको भनाइ छ । 

यसअघि जिल्ला कृषि विकास कार्यालय छँदा उसको मातहत रहेका कृषि केन्द्र र उपकेन्द्रहरु सम्बन्धित स्थानीयतह मातहत गएकाले आपूmहरुको  निगरानी नरहने कृषि ज्ञान केन्द्र मलङ्गवाले स्पष्ट पारेको छ । “हाम्रो कार्यालय (कृषि ज्ञान केन्द्र) प्रदेश सरकारमातहत छ, हामी प्रदेशकै निर्देशन मुताविक काम गर्छौँ”, केन्द्रका निमित्त प्रमुख यादवले  भन्नुभयो, “विगतमा स्थानीय किसानका बीचमा काम गर्दै आएका कृषि केन्द्र, उपकेन्द्र र पशु स्वास्थ्य केन्द्र सबै अब स्थानीयतह मातहत छन् ।”

सैद्धान्तिकरूपमा यस्तो व्यवस्था भए पनि स्थानीय तहले कृषि शाखा सञ्चालन नगर्दा पहिलेका कृषि केन्द्र र उपकेन्द्रका कृषि प्राविधिक अहिले कुनै काममा नदेखिएका महोत्तरीको आम कुरा नै बनेको छ । “यो विलकुल विषय दक्षतामा आधारित क्षेत्र रहेछ”, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले भन्नुभयो, “किसानले बढीभन्दा बढी सेवा लिनसक्ने गरी कृषि शाखाको सञ्चालन र सेवा प्रवाहको उचित समन्वय गर्न सकिएको छैन ।”

यता  स्थानीय तहमा रहेका कृषि केन्द्र र उपकेन्द्रमा कार्यरत कृषि प्राविधिक र कर्मचारीले आपूmहरु स्थानीय तहको नेतृत्वबाट उपेक्षित भएको गुनासो गरेका छन् । आपूmहरुसँग कृषिसम्बन्धी कुनै परामर्श लिने वा योजना बनाउने काममा सहभागिता नखोजिएको कृषि प्राविधिक र कर्मचारीको गुनासो छ । 

जिल्लामा कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टरमध्ये ५० हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको छ । अहिले बजारमा धानको बीउ नै पर्याप्त नपाउँदा किसानले पर्याप्त धान रोपाइँ गर्न नसकिने स्थिति देखिन लागेको छ । अब गुजाराको एउटै सहारा देखिने धानबाली लगाउन सक्ने अवस्था नआए भोकमरी हुने चिन्ताले किसान पिरोलिएका छन् । यो अवस्था अन्त्य गर्न अहिले तत्काल प्रदेश सरकार, स्थानीय तह र कृषिसम्वद्ध कार्यालयको समन्वय आवश्यक देखिएको विज्ञले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस