कविता : देश

विहीबार, १५ जेठ २०७७, १४ : २०
कविता : देश


- चन्द्र गुरुङ

बैँसालु युवकले मौकामा सदुपयोग गर्नलाई
पर्समा चेपिराखेको ब्राण्डेड कण्डमले 
विज्ञापन गर्छ–निस्फिक्री ग्यारेण्टी ! 
यस्तो, सस्तो र सुलभ साधन होइन देश ।
दिमागमा नाफाघाटाको ग्राफ कोर्दै
कुनै नेताले आश्वासनको दानापानी छर्दै
गरीप जनताको आँसुमाथि मोजमस्ती गर्न चलाएको 
‘खसी मार्केट’ होइन देश ।
बिहेभोज वा पार्टीतिर
भोजनपछि बाँडिने सुगन्धित पान होइन देश
शानले मुखमा हाल्यो
चपाएर स्वाद जति सिध्याइसकेपछि
जथाभावी थुक्न मिल्ने ।
दुई तिघ्राको कापमा
सल्केको लुतो वा खटिरा होइन देश, महाशय
एकान्ततिर चुपचाप कन्यायो ख्वार्र ख्वार्र
भरपूर आनन्द लियो ।
देश 
तिम्रो दिमागमा चल्ने नयाँ–नयाँ दाउपेच होइन
धोखापूर्ण खेलमा लड्न र लडाउन मिल्ने
गोटीलाई कहिले अगाडि, त कहिले पछाडि
ईच्छा अनुसार सार्न सकिने ।
तिम्रो भान्टा जस्तो नाक होइन देश
घिनलाग्दो र अपाच्य स्टाइलमा
चलखेलको चोर औँलाले कोट्याई राख्ने । 
खलतीमा सजाइराखेको
या डायरीमा चेपिराखेको गुलाब होइन देश
गुपचुप र अवैध भेटघाटहरूमा
प्रियसीको केशराशिमा सिउरिदिन मिल्ने ।
देश–
जाँदाजाँदै जुन माटोमा एउटा चुम्बन रोपेर गएको थियौ
फर्किंदा त्यही माटोको स्पर्शको सुख हो
अँगालोमा बाधिँदाको आनन्द, र
हृदयको कुनाकुनामा चलमलाउने आत्मीय लहर हो ।
साथी–सँगी हो
भाइ–बन्धु हो
हो हाम्रो आमा ।

प्रतिक्रिया दिनुहोस