काठमाडौं । सरकारले २०७७-०७८ का लागि आर्थिक आय व्यय विवरण (बजेट) आज संघीय संसदमा प्रस्तुत गर्दैछ । प्रतिनिधीसभा र राष्ट्रिय सभाको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री खतिवडाले पेश गर्ने यो बजेट तेश्रो हो । राजस्व संकलनको लक्ष्य, फागुनमा गरिएको संशोधन र कोभिड–१९ को परिस्थितिपछिका शीर्षकगत हिसाबमै बढी केन्द्रीत रहेर यस वर्षको बजेट आउने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री खतिवडाले सरकारको नीति तथा कार्यक्रममा समावेश भएका विषयमा केन्द्रीत रहेर बजेट तयार भएको र यसपटकको बजेटमा कुनै नयाँ योजना भने समावेश नगरिएको प्रष्ट पारिसकेका छन् । बजेटको आकार चालु वर्षकै हाराहारीमा हुने गरी अर्थमन्त्री खतिवडाले तयारी गरेका छन् । यसपटकको बजेटमा बृद्धभत्ता र तलब वृद्धिको कुनै कुरा समावेश छैन । मध्यपान र धुम्रपानमा कर बढन सक्ने अनुमान गरिएको छ । महँगा र स्वदेशमै उत्पादन हुने वस्तुको आयातमा कडाई गरिने, कृषि र प्रविधिका क्षेत्रमा मात्र नयाँ केही कार्यक्रम समेटिन सक्ने अनुमान बजेट आउदै गर्दा गरिएको छ ।
सीमित स्रोतबीच आउने बजेट स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना, कृषि र प्रविधिको क्षेत्रमा केही नयाँ कार्यक्रमसहित आउने अर्थमन्त्रालय स्रोतको भनाई छ । चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । यस पटक पनि सोही हाराहारीकै बजेट ल्याउने तयारीमा अर्थमन्त्री डा. खतिवडा छन् । कोभिड १९ ले अति प्रभाव पारेका क्षेत्रको आर्थिक पूर्नरुथानका लागि विशेष कार्यक्रम समेटने गरी बजेट आउन सक्ने अनुमान गरिएको छ । होटल, रेस्टुरेन्ट, एयरलाइन्स, ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायत पर्यटन क्षेत्रको पुनरुत्थानलाई उच्च प्राथमिकता बजेटले दिने अनुमान गरिएको छ ।
विदेशमा रोजगारीका लागि गएका नेपालीहरु अधिकमात्रामा स्वदेश फर्किने र स्वदेशभित्रै पनि रोजगारीमा रहेकाहरुको कोभिड १९ का कारण रोजगारी गुमाउनु पर्ने अवस्थालाई मध्यनजर गरेर कृषि लगायतका क्षेत्रमा नयाँ रोजगारी सिर्जना गर्ने गरी बजेट आउने अपेक्षा गरिएको छ । रोजगारीलाई पुर्नस्थापित गर्न, वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई रोजगारी उपलब्ध गराउन र स्वरोजगारी बढाउन कृषि, साना, घरेलु तथा मझौला उद्यम र सेवा क्षेत्रमा संलग्न हुन उत्प्रेरित कार्यक्रम ल्याउने तयारीमा सरकार छ । त्यसका लागि केन्द्र, प्रदेश र स्थानिय तहका सरकारका वीचमा समन्वय गरी कार्यक्रम बनाइने गरी बजेटमा ब्यवस्था गर्न लागिएको बताईएको छ ।
कृषिको सम्भावना र अवसरको खोजी गदै कृषिमा बजेट बढन सक्ने अनुमान गरिएको छ । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि सोही अनुसार नै योजना बनाएकोले कृषिमा केन्द्रीत रहेर बजेट आउने अनुमान गरिएको छ । सांसदलाई दिइदै आएको सांसद विकास कोषका कार्यक्रमलाई निरन्तरता दिने, सामाजिक सुरक्षा अन्र्तगत वृद्ध भत्तालाई अहिले यथाअवस्थामा राख्ने र कर्मचारीहरुको तलव पनि वृद्धि नगरी बजेट आउने छ ।
गत चैत ११ यता निरन्तर जारी लकडाउन र त्यसले अर्थतन्त्रमा पारेको प्रभावलाई मध्यनजर गरेर बजेट आउन लागेको छ । यसले पनि यसपटकको बजेटमा आर्थिक पूर्नरुथ्थानका कार्यक्रममा मात्र बजेट केन्द्रीत रहेको बताइएको छ । ४ बजे संघीय संसदका दुवै सदनका संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्नु अगावै आजै बजेटका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउने र त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेर बजेट पारित गर्ने तयारीमा सरकार छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित