‘नौ दिनमै म ठीक भएँ’

बुधबार, १४ जेठ २०७७, २० : ०७
‘नौ दिनमै म ठीक भएँ’

काठमाडौं । काठमाडौँमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण हुनुभएका  तुलसीपुर उपमहानगरपालिका वडा नं – ४ का भीमबहादुर वली कोरोनालाई जितेर घर फर्किनुभएको छ ।

काठमाडाँैबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट आज घर फर्किनुभएका वलीलाई रक्षाचौरस्थित क्वारेन्टिनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गर्नुभयो । ‘‘कोरोना जित्नुभएकामा तपाईँलाई धेरै धेरै बधाई ’’, नगर प्रमुख पाण्डेले भन्नुभयो । उहाँले कोरोनालाई उच्च मनोबल बनाए सजिलै जित्न सकिन्छ भन्ने सन्देश सबैलाई दिन पनि उहाँलाई आग्रह गर्नुभयो ।  

नगर प्रमुख पाण्डेले वलीलाई पोषण आहारका लागि अण्डा, स्वास्थ्य सामग्रीसमेत प्रदान गर्नुभएको थियो । लामो समय बहिनीज्वाइँको उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा बस्नुभएका ४६ वर्षीय वलीलाई त्यही बेला कोरोना संक्रमण देखिएको हो । स्वाब लिएको दुई दिनमै केही काम छ भन्दै पाटन अस्पताल पुु¥याइएपछि स्वास्थ्यकर्मीले एकाएक कोरोना संक्रमण भएको जानकारी दिँदा निकै डर लागेको उहाँले आफ्नो अनुभव बताउनुभयो ।

यही जेठ ३ गते कोरोना संक्रमित भएको खबर पाउनुभएका वलीले जेठ १२ गतेसम्म तीन पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ भन्ने खबर पाइएको बताउनुभयो । ‘‘हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ’’, उहाँले भन्नुभयो ।