४ महिने बालक सहित एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त, उपचार पछि घर फर्किए

सफल खबर संवाददाता

सोमबार, १२ जेठ २०७७, १० : २३
४ महिने बालक सहित एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त, उपचार पछि घर फर्किए

वीरगञ्ज । कोरोना भाइरसको संक्रमण भएर विरगंजमा उपचाररत एकै परिवारका ४ महिने बालक समेत १८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । 

वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका चार महिने बालकसहित १८ जना निको भएर घर फर्किएका हुन् । कोरोना भाइरसबाट संक्रमित भइ नारायणी अस्पतालमा भर्ना भएका उनीहरुलाई आइतबार राति डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिए ।

कोभिड–१९ लाई जितेर घर फर्किने सबै १८ जना वीरगञ्जको छपकैया निवासी एकै परिवारका हुन् । डिस्चार्ज हुनेमा ११ जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरु मध्ये ४ महिनेदेखि १० वर्षसम्मका १० जना बालबालिका हुन् । उनीहरुलाई आइतबार राति ११ बजे फूलमालासहित अस्पतालबाट घर पठाइएको हो ।

१८ जना संक्रमितको लागातार दोस्रोपटक कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । गएको वैशाख २१ गते छपकैयाका एकजना पुरुषमा कोरोना संक्रमण देखिएपछि उनको कन्ट्याक ट्रेसिङ्गको आधारमा परीक्षण गर्दा उनका परिवारका थप १७ जनामा वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस