रोहिङ्गा मुसल्मानमाथि हिंसाको आरोपमा म्यानमारका जर्नेललाई कारबाही

शनिबार, १२ फागुन २०७४, ११ : १२
रोहिङ्गा मुसल्मानमाथि हिंसाको आरोपमा म्यानमारका जर्नेललाई कारबाही

एजेन्सी । यूरोपेली संघले म्यानमारका प्रमुख जर्नेलहरु विरुद्ध प्रतिबन्धको तयारी गरिरहेको बताएको छ । गत वर्ष रोहिङ्गा मुसल्मानको सम्पूर्ण जातिलाई नै नष्ट गरि देशनिकाला गर्ने प्रयास गरेको आरोपमा आगामी हप्ता नाम सार्वजानिक गराएरै कारबाही सुरु गरिने बताइएको छ ।

यात्रा लगायत अन्य थुप्रै कुरामा प्रतिबन्ध लगाइ युरोपियन युनियनले कडा कारबाहीको योजना बनाइरहेको  रोयटर्सले समाचारमा उल्लेख गरेको छ । मानव अधिकार विरुद्ध कार्य गर्नु गम्भीर अपराध भएकाले उनीहरुले गरेको प्रत्येक हिंसाका लागि सजायँ दिइने युरोपियन युनियनले बताएको हो । म्यानमार सेनाका प्रमुख प्रवक्ता तथा जर्नेल टुनटुन न्यीले फोनमार्फत यस निर्णयबारे थाहा पाइसकेपनि कुनै प्रतिक्रिया नदिएको बताइएको छ । यसअघि अमेरिकी प्रशासनले पनि म्यानमारका मुख्य जर्नेल मओङ सोएलाई हिंसाका लागि जिम्मेवार भएकामा प्रतिबन्ध लगाउने बताएको थियो ।

अर्कोतर्फ संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठकमा भने भीटो पावरयुक्त रुस र चीनले यस विषयमा सबै कुरा नियन्त्रित रहेको र कुनै समस्या नभएको बताएका थिए । उता अमेरिका र युरोपियन युनियनले चाहिँ म्यानमारको सैन्य अभियानलाई ‘एउटा पूरै जातिको विनाश गर्ने रणनीति’ भएको आरोप लगाउँदै आएका छन् जसकारण ६ लाख भन्दा बढी रोहिङ्गा मुसल्मानहरु सुरक्षित स्थानको खोजीमा म्यानमार छाड्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस