चितवन वासीलाई कोरोनाको प्रकोपबाट जोगाउन नेपाली सेनाले थाल्यो अभ्यास

नागरिकलाई विपतीबाट बचाउन विपद व्यवस्थापन गण चितवन तयार रहेको कर्णेल पराजुलीको भनाई

प्रकाश सिग्देल

आइतबार, ११ जेठ २०७७, १५ : ४७
चितवन वासीलाई कोरोनाको प्रकोपबाट जोगाउन नेपाली सेनाले थाल्यो अभ्यास

–  प्रकाश सिग्देल
चितवन । कोरोना भाइरसको प्रकोप बढेसँगै यसबाट आइपर्ने चुनौतिको सामना गर्दै नागरिकलाई यसको विपदबाट बचाउन नेपाली सेना श्री नं. २ विपद व्यवस्थापन गण चितवनले आफ्नो भुमिका देखाउन सुरु गरेको छ ।

नागरिकलाई विभिन्न किसिमबाट आइपर्ने प्राकृतिक विपतिबाट बचाउने उद्देश्यस्वरुप गठन भएको यो गणले कोरोनाले पार्न सक्ने जोखिम र निमत्याउने चुनौतिको मुल्याकंन गर्दै त्यस्को व्यवस्थापन सम्बन्धि पूर्वअभ्यास गरेको हो । 

चितवनको राप्ति नगरपालिका रसौलीमा रहेको यो गणले आइतबार जिल्लाका प्रशासक, जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुकाबीच गण परिशरमा शव व्यवस्थापन सम्बन्धि डेमोन्स्ट्रेशन प्रदर्शन गरेको छ । कोरोनाको प्रकोपले मानिसको ज्यानै जाने खालको अकल्पनीय घटना भएमा त्यस्तो अवस्थामा  कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यत्तिको शव कसरी  व्यवस्थापन गर्ने तथा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को निसंक्रमण कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रर्दशनी गरिएको नेपाली सेना श्री नं २ विपद व्यवस्थापन गण रसौली चितवनका गणपती कर्णेल राजेन्द्र पराजुलीले जानकारी दिनु भयो । 

बिहान ८ः३० बजेदेखि ९ बजेसम्म व्यारेक हाताभित्र भएको शव व्यवस्थापन सम्बन्धि डेमोन्स्टे«शन कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, राप्ति नगरपालिकाका मेयर प्रभा बराल, जिल्ला अस्पताल भरतपुरका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयका पदाधीकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु र जिल्लामा खटिएका तीन वटै सुरक्षा निकायका सुरक्षा कर्मीहरुको सहभागिता रहेको कर्णेल पराजुलीले बताउनु भयो । 

आफूहरुको जिम्मेवारी नै नागरिकको जिउधनको रक्षा गर्ने भएकाले कोरोनाको प्रकोपबाट पर्ने असरको सामना गर्दैै नागरिकहरुलाई विपदको जोखिमबाट हुने क्षती घटाउन आफूहरु पुर्ण रुपमा तयारी अवस्थामा रहेको कर्णेल पराजुलीले बताउनु भयो ।