मध्यरातमा पूर्वयुवराज पारस चढेको गाडी दुर्घटना , गोरुलाई ठक्कर

शनिबार, १० जेठ २०७७, १७ : ५७
मध्यरातमा पूर्वयुवराज पारस चढेको गाडी दुर्घटना , गोरुलाई ठक्कर

पोखरा । पूर्व युवराज पारस शाह चढेको गाडी पोखरामा दुर्घटना भएको छ । शुक्रबार राति करिब साढे २ बजेको समयमा पोखरा पृथ्वीचोकमा एउटा गोरुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

पूर्वयुवराज शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले मध्यरातमा गोरुलाई ठक्कर दिएको हो । गाडीको ठक्करपछि घटनास्थलमै गोरुको मृत्यु भएको छ । 

दुर्घटना भएको गाडीमा ३ जना सवार थिए । मध्यरातमा पूर्वयुवराज पारसको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । उनलाई छात्तीमा समस्या आएपछि मध्यरातमा गण्डकी अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको हो । गाडी चालक निजी नभई अर्कै  रहेको प्रहरीको भनाइ छ । 

दुर्घटनापछि चालक अशोक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  पूर्व युवराज पारस लकडाउनको समयमा आफ्ना सहयोगीहरुसँग करिब ९ महिनादेखि पोखराको लेकसाइडमा बस्दै आएका छन् । केही दिनअघि उनले पोखराका जलारी समुदायलाई राहत वितरणसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस