गुल्मीका कोरोना संक्रमितको मृत्युप्रति प्रदेश सरकारद्वारा दुःख व्यक्त

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०७७, १३ : ०३
गुल्मीका कोरोना संक्रमितको मृत्युप्रति प्रदेश सरकारद्वारा दुःख व्यक्त

काठमाडौं । गुल्मीका पहिलो कोरोना संक्रमितको मृत्यु प्रति प्रदेश नम्बर ५ सरकारले दुःख व्यक्त गरेको छ । 

प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेको छ । 

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय शिक्षकको निधन भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्तिमार्फत जनाएका छन् । 

उनलाई बचाउन अनार्कौ प्रयास गरेपनि बचाउन नसकिएकोमा सरकार दुःखी भएको उनको विज्ञप्तिमा उल्लेख छ । 

कंङ्गे देउराली आधारभूत विद्यालयका प्राधानाध्यापक समेत रहेका उनको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै प्रदेश सरकारले उनको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्पप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।