विदेशमा रहेका नेपालीलाई अब यसरी ल्याइदैछ नेपाल

तीन चरणमा गरी ल्याउने प्रस्ताव मन्त्रीपरिषदवाट पारित, देशैभरका ६ हजार ७ सय ४३ वडामा क्वारेन्टाइन बनाउन प्रधानमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०७७, ०८ : ५४
विदेशमा रहेका नेपालीलाई अब यसरी ल्याइदैछ नेपाल

काठमाडौं । सरकारले भारत लगायत अन्य तेश्रो मुलुकमा रहेका आफ्ना नागरिकलाई प्राथमिकता सूचिका आधारमा वर्गीकरण गरेर स्वदेश ल्याउने तयारी गरेको छ । यूएई लगायतका मुलुकले आफना देशका नागरिक लैजान सरकारलाई गरिररहेको आग्रह र दक्षिण छिमेकी मुलुक भारतमा पनि रोजीरोटी गुमेका नेपालीलाई सीमा क्षेत्रमा ल्याएर अलपत्र छोडने क्रम बढेपछि सरकारले उनीहरुलाई स्वदेश ल्याउने तयारी गरेको हो । 

विदेशबाट ल्याउन लागिएको नेपालीहरुलाई क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनभित्रै सुरक्षित रुपमा श्रममा समेत परिचालन गर्न सक्ने गरी सरकारले तयारी गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई आइतबार निर्देशन गरिसकेको छ । अब सरकारको यो निर्णयसँगै ७ सय ६५ वटा स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा क्वारेन्टाइन बनाउन लागेको छ । आइतबारको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले संक्रमितको संख्या बढ्न सक्ने तथा विदेशबाट समेत नेपालीलाई ल्याउनु पर्ने आवश्यकता बढेकोले सबै वडामा क्वारेन्टाइन बनाउन निर्देशन दिएका हुन् ।

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन संसदमै प्रतिपक्षी काँग्रेसका सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको, आफ्नै पार्टीका प्रवास नेताहरुले पनि चर्काे दबाब बढाएको कारण सरकार आफ्ना नागरिक अब फिर्ता ल्याउनै पर्ने दबाबमा छ । यस अगाडी सरकारले सम्बन्धित देशहरुमै नेपालीहरुलाई ब्यवस्थापन गराउने प्रयास गरेको थियो । इथोइपियासम्मका देशले समेत आफ्ना नागरिकलाई विदेशबाट स्वदेश फर्काएको तर नेपाल सरकारले आफ्ना नागरिकलाई सुरक्षित स्वदेश फकाउने र क्वारेन्टाइनमा राख्ने विषयमा उपयुक्त कदम चाल्न नसकेको भनी आलोचना भईरहेको थियो ।

आलोचना बढेसँगै सरकारले हिजो बसेको मन्त्री परिषद् बैठकमा नेपालीहरुलाई फर्काउने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले क्याविनेट बैठकमा राखेका थिए । विदेशमा अलपत्र परेका र बैदेशिक रोजगारमा रहेका तर स्वदेश फर्कने बाध्यतामा परेका नेपालीहरुलाई स्वदेश फर्काउने गरी उनले क्याविनेटमा प्रस्ताव लगेका थिए । त्यसलाई मन्त्रीपरिषद् बैठकले पारित गरेको एक मन्त्रीले सफलखबरलाई जानकारी दिए ।

एक मन्त्रीका अनुसार मन्त्री ज्ञवालीले लगेको प्रस्तावमा अशक्त, गर्भवती महिला, साना बच्चाका आमा, कानुनीरुपमा बस्न अयोग्य भएर पनि आममाफी पाएका लगाायतलाई पहिलो चरणमा ल्याउने गरी कार्यविधिसहितको प्रस्ताव बैठकमा लगेका थिए । त्यसैलाई निक्कै छलफल पछि प्रधानमन्त्री ओलीले अब वर्गीकरण गरेर ल्याउने तिरै जानुपर्ने र त्यसका लागि देशभर क्वारेन्टाईनमा ध्यान दिनुपर्ने निर्देशन गरेका थिए । रोजगारदाता राष्ट्रले समेत तिम्रा नागरिक लैजाउ, लान नसक्ने हो भने पनि विमानस्थल खुल्ला गर्नु हामी ल्याएर छोडिदिन्छौं भन्ने सम्मको प्रस्ताव सरकारलाई गरेपछि सरकार विदेशमा रहेका आफना नागरिक स्वदेश लडाउने विषयमा चर्काे दबाबमा थियो ।

अब यो निर्णयसँगै सरकारले विदेशमा रहेका नेपाली नागकिरलाई क्रमशः ल्याउने भएको छ । यस विषयमा परराष्ट्रले अध्ययन गर्न एउटा समिति समेत पनि बनाएको थियो । मन्त्रालयका सहसचिव तपास अधिकारीको नेतृत्वमा रहेको समितिले त्यस सम्बन्धी गृहकार्य सहितको कार्ययोजना मन्त्री ज्ञवाली समक्ष प्रस्तुत गरेपछि त्यसैलाई उनले क्याबिनेट बैठकमा लगेका थिए ।

यो सरकारको निर्णयसँगै अव ३५ हजार नेपालीलाई पहिलो चरणमा नेपाल ल्याउने तयारी सरकारको छ । यसमा अत्यन्त संबेदनशील अवस्थामा संसारभर रहेका नेपालीहरुलाई राखिएको छ । त्यसैगरी दोस्रो चरणमा रोजगारी गुमाएका र देश फर्कन चाहने व्यक्तिहरुलाई स्वदेश फर्काइने छ । त्यसैगरी तेस्रो चरणमा बिदामा स्वदेश आउन चाहने कामदारहरुलाई ल्याउने गरी सरकारले प्रस्ताव पारित गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस