शिक्षकलाई बन्दुक र तालिम दिन ट्रम्पको सुझाव

शुक्रबार, ११ फागुन २०७४, ०८ : २८
शिक्षकलाई बन्दुक र तालिम दिन ट्रम्पको सुझाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विद्यालय हमलाका पीडित परिवारहरुसँग बसेको बैठकमा घटनाबारे खुलस्त भएर कुराकानी गरेका छन् ।

१७ को मृत्यु भएको सो हमलामा बाँच्न सफल विद्यार्थी लगायत मृतकका परिवारमाझ दुःख व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले आगामी दिनहरुमा यस्तो कहिल्यै हुन नदिने बचन दिएको बीबीसीले जनाएको छ ।

सो कार्यक्रममा उनले यस्ता घटनालाई फेरि पनि नदोहो¥याउन विद्यालयमा पढाउने अधिकांश शिक्षकहरुलाई बन्दुक प्रदान गरिने सुझाव दिएका छन् । यसका साथै ट्रम्पले डग्लस स्कुलका विद्यार्थीहरुसमक्ष अबबाट बन्दुकहरुको बिक्री गरिँदा खरिदकर्ताको मानसिक स्वास्थ्यको समेत राम्रो परीक्षण गरिने र पृष्ठभूमिमा पनि उत्तिकै ध्यान दिइने बताएका छन् । उनले थप भने, “पहिलेको जसरी हामी कुरा मात्र गर्नेछैनौँ र यी सबै नियम कडा रुपमा लागू गराउनेछौँ ।”

यस्ता घटनामा शिक्षकहरुको साथमा पनि बन्दुक हुने हो भने दुर्घटनाले ठूलो रुप लिन नपाउने ट्रम्पको भनाइ छ ।

उनको यस्तो योजनालाई धेरैले विवादास्पद रहेको बताउँदै आलोचना गरिरहे पनि उनका अनुसार विद्यालयमा पढाउने शिक्षकहरुलाई बन्दुक र प्रतिरक्षा सम्बन्धी उचित तालिम दिइने हो भने विद्यालय बन्दुकरहित क्षेत्र रहनेछैन ।

उनले भने, ‘किनकी त्यस्ता अपराधीहरु कायर हुन्छन् र विद्यालय परिसरभित्र कसैसँग बन्दुक हुँदैन भन्ने सोचले उनीहरुलाई हमला गर्ने साहस दिइरहेको हुन्छ । त्यसैकारण हामीले विद्यालयमा ‘गन एक्सपर्ट’ राख्यौँ भने यस्ता घटना हुन पाउनेछैनन् ।’

उता धेरै अभिभावकले भने ट्रम्पको यस योजनाप्रति सन्तुष्टि जनाएका छैनन् । यस्ता हमलालाई रोक्न बन्दुकको प्रयोगलाई अझ बढावा दिनु उचित नहुने उनीहरुको भनाइ छ ।

‘बन्दुक हमलाबाट मुक्त हुन अझ अर्को बन्दुक पनि थप गर्नु समाधान होइन अर्को समस्या हो’ उपस्थित एक अभिभावकले विरोध जनाउँदै भने । अर्कोतर्फ ट्रम्पको नेशनल राइफल असोसिएनस, एनआरआइसँग पहिलेबाट नै राम्रो सम्बन्ध रहँदै आएकाले पनि यस विषयमा उनी सोचमा परिरहेको अन्तराष्ट्रिय संचार माध्यमको भनाइ छ । सो संस्थाले राष्ट्रपति चुनावका बेला उनलाई ३० मिलियन डलर बराबरको आर्थिक सहयोग प्रदान गरेको थियो ।बीबीसी

प्रतिक्रिया दिनुहोस