सगरमाथाको उचाइ नाप्‍न हिँड्यो चिनियाँ टोली

आइतबार, ०४ जेठ २०७७, १५ : ३४
सगरमाथाको उचाइ नाप्‍न हिँड्यो चिनियाँ टोली

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा रोक लगाएको बेला चिनियाँ टोली भने उचाइ नाप्‍न आरोहण गरेको छ । यसअघि बेस क्याम्पबाट अघि बढेको चिनियाँ टोली खराब मौसमका कारण फेरि बेस क्याम्पमै फर्किएको थियो । 

६ मेमा सगरमाथाको उचाइ नाप्‍न चिनियाँ टोली पुनस् बेस क्याम्प पुगेको थियो । ६ हजार ५०० मिटरको बेस क्याम्पमा ३० जनाको नापी टोली चीनको स्वशासित क्षेत्र तिब्बतबाट ५ मेमा हिँडेका थियो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार फेरि चिनियाँ सर्भेयरको टोली बेस क्याम्पबाट शनिबार दिउँसो २ बजे शिखरतर्फ आरोहण गरेको हो । मौसमले साथ दिएमा २२ मे अर्थात् शुक्रबार बिहानसम्म सर्भेयरको टोली शिखरमा पुग्‍ने पर्वतारोहण प्रशासनिक केन्द्रका कार्यकारी निर्देशक वाङ योङफेङले सिन्ह्वालाई बताएका छन् । 

सगरमथाले नेपाल(चीन सीमा छुट्याएको छ । दुवै मुलुकले कोरोना संक्रमणका कारण यस वसन्तको आरोहण रद्द गरेका छन् । 

चीनले अमेरिकी ग्लोबल पोजसनिङ सिस्टमको विपक्षी बाइडु स्याटेलाइट नेटवर्कलाई सगरमाथाको उचाइ नाप्‍न प्रयोग गरिने बताइएको छ । सगरमाथाको उचाईसँगै हिउँको गहिराइ, मौसम र वायुको गतिसमेत मापन गरिने बताइएको छ । जसले हिमपहिरो र पर्यावरणीय परिवर्तनको अवस्थाको पूर्वानुमान गर्न सहज हुने बताइएको छ । 

चीनले  चिनियाँ भाषामा भनिने चोमोलोङमाको उचाइ मापनका लागि छ वटा सर्भे गरेको छ । जसअनुसार सन् १९७५ मा मापन गर्दा आठ हजार ८४८ मिटर र सन् २००५ मा आठ हजार ८४४ वर्गमिटर कायम गरिएको थियो । 

सन् २०१९ मा सगरमाथा आरोहण गर्नेको संख्या धेरै हुँदा लाइनमा बस्‍नु परेको र मानिसहरुको मृत्यु भएको थियो । गत वर्ष ८७६ जनाले सगरमाथा आरोहण गर्ने हिमालयन डाटाबेसले जनाएको छ । 

यस वर्ष सगरमाथा आरोही नहुँदा शेर्पा गाइडलाई समस्या भएको बताइएको छ । 

२२ मे, २०१९ मा सगरमाथाको उचाइ नाप्‍न खटिएको नेपाली नापी विभागको टोली शिखरमा पुगेको थियो । विभागका उपसचिव खिमलाल गौतम नेतृत्वमा गएको टोली २२ मे बुधबार बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको बताइएको थियो । टोलीका सदस्य रविन कार्कीसहित क्लाइम्बिङ गाइड छिरिङ जाङ्बु शेर्पालगायतले शिखरमा पुगेर जीएनएनएस जीपीएस सेट गर्ने काम सम्पन्न गरेको बताइएको थियो । एपीको सहयोगमा