चलचित्र विकास बोर्डको नेतृत्व हत्याउन १० जनाको दाबी

भूवन केसी र दयाराम दाहालबीच नेतृत्व हत्याउन रस्साकस्सी, नेकपाका नेताका दैलो चहार्ने क्रम बढ्दो

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, १० : ३६
चलचित्र विकास बोर्डको नेतृत्व हत्याउन १० जनाको दाबी

काठमाडौं । चलचित्र विकास बोर्ड गता पुस यता नेतृत्व बिहिन छ  । अध्यक्ष रहेका केशव भटराईको हृदयघातका कारण निधन भएपछि यो संस्था नेतृत्व विहिन बनेको हो । अहिले उक्त बोर्डमा अध्यक्ष नियुक्तिको तयारी भईरहेको छ । अध्यक्षका लागि सरकारले १५ दिने सूचना जारी गर्दै खुल्ला आवेदन माग गरेको थियो ।

त्यसको अवधी मंगलबार सकिएको छ । अध्यक्ष बन्नका लागि १० जना चलचित्रकर्मीले आवेदन दर्ता गराएका छन् ।अध्यक्षका लागि भुवन केसी देखि कतिपय नामै नसुनिएका सम्मले पनि आवेदन दिएको सञ्चारमन्त्रालय स्रोतले जनाएको छ । 

को–को छन् दौडमा ?
अध्यक्षका लागि आवदेन दिने १० जनामा निर्माता अर्जुन कुमार, निर्देशक दीपक श्रेष्ठ, कलाकार सोहित मानन्धर, निर्देशक राजेन्द्र उप्रेती, कलाकार भीमा मैनाली, सांस्कृतिक संस्थानका पूर्व प्रबन्ध निर्देशक राजेश थापा, ध्यानबहादुर सुब्बा र परशुराम चौधरी छन् । त्यस्तै, अध्यक्षका लागि वर्तमान बोर्ड सदस्य दयाराम दाहाल र भुवन केसीले पनि आवेदन दिएका छन् । दाहाल र केसीकै बीचमा बोर्ड अध्यक्ष हत्याउन निक्कै कडा प्रतिस्पर्धा रहेको चलचित्रकर्मीहरु बताउँछन् । 

तर, आवेदन दर्ता गराएका मानन्धर शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका भतिजा हुन् । उप्रेती वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलनिकट छन् । मैनालीले पनि मुख्यमन्त्री पौडेललाई नै गुहारिरहेको छन् । उनीहरु पनि राजनीतिक पहुँच पु¥याउन निक्कै दौडधुपमा लागेको स्रोत बताउँछ । अहिले निक्कै दौडधुपमा लागेका दयाराम दाहाललाई पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले केशव भट्टराईभन्दा पहिला नै अध्यक्ष बनाउन चाहेका थिए ।

तर त्यसबेला पार्टी निकट जनपक्षीय चलचित्रकर्मी संघले भट्टराईको नाम अगाडि सारेपछि मन्त्री बाँस्कोटाले दाहाललाई अध्यक्ष नबनाई बोर्ड सदस्यमै सीमित गराएका थिए । अहिले उनी बाँस्कोटाकै फेरो समातेर अध्यक्ष पद हत्याउन लागिपरेका छन् । यति मात्र होइन, उनकै लागि सञ्चार मन्त्रालयले शैक्षिक योग्यताको मापदण्ड अध्यक्ष बन्नका लागि घटाएको समेत चर्चा अहिले चलेको छ ।

पहिले केशवको नाम सिफारिस गरेको नेकपा निकट जनपक्षीय चलचित्रकर्मी संघले यो पटक दाहाललाई सिफारिस गरेको बुझिएको छ । बालुवाटारसम्म सोझो पहुँच नभएका उनले यसका लागि कोमल वली र दिनेश डिसीको सहारा पनि लिएको स्रोत बताउँछ । केसी पनि आफुले सकेको गर्न नेताहरुको दैलो चहार्न लागिपरेको बताइन्छ । यस हिसावले केसी र दाहाल मध्येबाटै बोर्ड अध्यक्ष आउने अनुमान चलचित्रकर्मीहरुले गरिरहेका छन् ।

केसी पनि तत्कालीन एमालेका सबै शीर्षस्थ नेतानिकट छन् । कुनै समय पार्टीले उनलाई समानुपातिक सांसद्को कोटामा राखेर पछि हटाएको पनि थियो । तसर्थ, केसीको सम्भावना पनि बलियो रहेको चलचित्र कर्मीहरुका बीचमा चर्चा छ ।

‘योग्यता नै घटाइयो’
अध्यक्ष पदका लागि पहिले कम्तीमा स्नातक पास गरेको हुनुपर्ने योग्यता थियो । तर त्यो योग्यता अहिले घटाईएको छ । यो साल २० वर्ष फिल्म क्षेत्रमा बिताएको मान्छेले आईए वा सोसरहको शैक्षिक योग्यता हुँदा मात्र पनि अध्यक्ष बन्न पाउने प्रावधान राखिएको छ ।

दाहालको स्नातक नरहेको र उनलाई अध्यक्ष बनाउनकै लागि योग्यता घटाईएको चर्चा पनि फिल्मकर्मीहरुका बीचमा छ । अब केही दिनमै सरकारले बोर्ड अध्यक्ष नियुक्तिको तयारी गरेकोले को आउलान् बोर्ड अध्यक्ष चलचित्रकर्मीहरुले पनि चासोका साथ हेर्न थालेका छन् ।