बजेटको प्राथमिकता कोरोना माहामारी विरुद्ध हुनुपर्छ : सांसद पोखरेल

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, २१ : ३८
बजेटको प्राथमिकता कोरोना माहामारी विरुद्ध हुनुपर्छ : सांसद पोखरेल

फाईल फोटो

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवम् कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले आगामी वजेटको प्राथमिकतामा कोरोना महामारी नियन्त्रण र व्यवस्थापन पर्नुपर्ने धारणा राखेका छन् । 

मंगलबार प्रतिनिधिसभामा बोल्दै सांसद पोखरेलले बजेटको प्राथमिकता कोरोना  भाइरसबाट नागरिक जोगाउने खालको हुनुपर्ने बताए ।  संसदमा वजेटको सिद्धान्त र प्राथमिकता विषयमा धारणा राख्ने क्रममा वजेटका कतिपय विषय स्वागत योग्य रहेको भन्दै सांसद पोखरेलले अन्य भौतिक निर्माणको विषय भन्दा पनि कोरोना व्यवस्थापनको दीर्घकालिन विषयमा वजेट केन्द्रित हुनुपर्ने बताए । कोरोनाको प्रभाव कहिले सम्म रहन्छ थाहा छैन, सांसद पोखरेलले भने, बजेटमार्फत दीर्घकालिन योजनाको सम्बोधन हुुनुपर्छ । 

संसदमा बोल्दै सांसद पोखरेलले हाल रहेका आइसीयू र भ्यानटीलेटर संख्या निकै कम रहेको बताए ।  ५ हजार मात्र कोरोना नेपालमा कोरोना संक्रमित भेटिएमा ठूलो समस्या हुने भन्दै उनले २५ हजार आइसीयू र भेन्टिलेटर देशभरी स्थापना गर्नुपर्ने बताए । सवै स्थानीय तहमा  २५ वेडको अस्पताल, २० वेड आइसोलेसन र  १०० वेडको क्वारेन्टाइन आवश्यक रहेको सांदद पोखरेलको भनाइ छ । त्यस्तै ७ वटै प्रदेशमा टेकु अस्पताल बराबर ल्याव सेवा दिने प्रयोगशाला आवश्यक रहेकोे बताए । 

त्यस्तै कोरोना रोगको  उपचारमा अग्रभागतमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उच्च मुल्यांकन राज्यले गर्नुपर्ने उनले बताए ।  पोखरेलले हाल विदेशमा रहेका नेपाली नागरिकलाई तत्काल फर्काउनुपर्ने सुझाव दिए । लकडाउनको अवधिभर बेरोजगार नागरिकलाई प्रतिदिन २ सय रुपैयाँ सरकारले दिनुपर्ने वा स्थानीय तहले क्षमता र आवश्यकताका आधारमा काम दिनुपर्ने बताए ।