लकडाउनका कारण उखु बिक्री नभएपछि खेतमै सुके उखु

रासस

मंगलबार, ३० बैशाख २०७७, १४ : ४८
लकडाउनका कारण उखु बिक्री नभएपछि खेतमै सुके उखु

– सन्तोष अधिकारी 
नारायणपुर । दाङको घोराही उपमहानगरपालिका –१७ गैरागाउँका उखु किसान डम्मर बुढा निकै चिन्तित हुनुहुन्छ । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण उखु बिक्री नभएपछि बुढालाई तनाव भएको छ । 

गत माघको अन्तिम सातादेखि बिक्रीका लागि तयार भएको उखु अहिलेसम्म १५ प्रतिशतसम्म पनि बिक्री नभएको उहाँले बताउनुभयो । उहाँले रोल्पाबाट गैरागाउँमा आएर पाँच वर्षदेखि सालाभेना गेमी उखु फार्मबाट जुस बिक्री गर्दै आउनुभएको छ । “आफ्नै फार्मबाट जुस बनाएर बिक्री गरेको थिएँ,  जिल्लाका अन्य बजारबाट पनि जुसका लागि उखु लिन व्यापारीहरु आउँथे तर अहिले व्यापारै छैन” , बुढाले भन्नुभयो ।

यस वर्ष उखु सुक्ने बेला भइसक्यो तर बिक्री भएको छैन । चिनी मिलमा पठाउँदा एक किलोको रु पाँचका दरले पु¥याइदिनुपर्ने भएकाले झनै घाटा हुने उहाँको गुनासो छ । “अब लकडाउन खुला होला र बिक्री गर्न पाइएला भनेको संक्रमण बढिराछ, यस वर्ष जग्गाको भाडा पनि कसरी तिर्ने भन्ने पो चिन्ता भयो”, बुढाले भन्नुभयो । 

वार्षिक रु ६० हजार बिघाको दरले आठ बिघा जमीन भाडामा लिएर उहाँले खेती गर्दै आउनुभएको छ । गत वर्ष महिनामा दैनिक रु आठदेखि दश हजारसम्मको रस बिक्री गर्नुभएका बुढाको अहिले दिनमा मुश्किलले रु एक हजार मात्रै कारोवार हुने गरेको छ । 

डम्मरजस्तै रुकुमबाट गैरागाउँमा आएर उखुखेती गर्दै आउनुभएका मनराज बाँठाको पनि अवस्था उस्तै छ । विसं २०७२ देखि उखुखेती गरेर बस्नुभउका बाँठाको ६ बिघा जमीनमा उखु बिक्रीका लागि तयार भए पनि बन्दाबन्दीले खेतमै सुक्न थालेको छ ।  उहाँ पनि प्रतिबिघा वार्षिक रु ६० हजार जमीनको भाडा तिर्नुहुन्छ । घोराही, नारायणपुर, तुलसीपुर, लमही र भालुबाङका जुस सेन्टरका व्यापारी उहाँका ग्राहक भए पनि बन्दाबन्दीले उखु नै बिक्री नभएको बाँठाको भनाइ छ । 

दैनिक बिक्री गर्दा पनि सबै सकिन चार महिना लाग्ने उक्त ठाउँको उखु अहिलेसम्म १० प्रतिशत मात्र बिक्री भएको छ । “बिक्रीको सिजनमा दैनिक १० हजारको बिक्री हुन्थ्यो तर अहिले जग्गाको भाडा कसरी तिर्ने हो थाहा छैन”, बाँठाले भन्नुभयो । लकडाउनकै समयमा पनि दिनमा १५ ÷२० जना रस खानका लागि आउने गरेको उहाँले बताउनुभयो । 

घोराही बजारको नजीकै भएका कारण जुस  पिउनका लागि साँझ र बिहान भीडभाड हुने गैरागाउँ अहिले सुनसान देखिन्छ । सात  किसानले ५० बिघामा लगाएको उखु फागुन महिनादेखि बिक्रीका लागि तयार भए पनि बन्दाबन्दीका कारण खेतमै सुक्न थालेको छ । किसानले उखु बिक्री नहुँदा भाडा तिर्न समस्या भएकाले स्थानीय सरकारसँग सहुलियत दिन माग गरेका छन् ।   
विकासनिर्माणले गति लिँदै 

लकडाउनका  कारण झण्डै डेढ महिनादेखी स्थगित  विकासनिर्माणका काम शुरु हुन थालेका छन् ।  जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले लामो समयदेखि बन्द  विकासनिर्माणका काम पुनःसञ्चालन गर्ने निर्णय गरेको हो । 

जिल्लामा विकासनिर्माणका प्रयोजनका लागि प्रयोग हुने गाडीले पास लिनु नपर्ने भएको छ । 

लकडाउनको आदेश र मापदण्डको पालनालाई कार्यान्वयन गराउनका लागि पनि सम्बन्धित पालिकाले अनुगमन गर्नुपर्ने र  संघिय तथा प्रदेशस्तरीय विकासनिर्माणका कामको सहजीकरण  जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । 

घोराही बजारको मुख्य चोक तुलसीपुर चोकदेखि दामोदर चोकसम्मको न्युरोड कालोपत्रे तथा फुटपाथ निर्माणको काम शुरु भएको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले  जानकारी दिनुभयो ।  नगरको वार्षिक कार्यक्रमानुसार रु एक करोडको लागतमा पिच र नालासहितको फुटपाथ निर्माण गर्न लागिएको छ  ।

यस्तै बैठकले विकासनिर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीका लागि प्रत्येक बुधबार र शनिबार हार्डवेयर पसल खोल्न दिने निर्णय भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस