एयर इण्डियाका पाँच पाइलट कोरोना संक्रमित

एजेन्सी

आइतबार, २८ बैशाख २०७७, १५ : ५४
एयर इण्डियाका पाँच पाइलट कोरोना संक्रमित

एजेन्सी । एयर इण्डियाका पाँच जना पाइलटमा  कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । ७७ जना पाइलटमा गरिएको परीक्षणमध्ये पाँच जनामा संक्रमण देखिएको हो ।

संक्रमित पाइलटहरूमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको र सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । पाँचै जना पाइलटले बोइङ ७८७ ड्रिमलाइनरको विमान चलाउँथे। एक जना टेक्निसियन र इन्जिनियरमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

गत अप्रिल १८ मा बोइङ ७८७ विमान मेडिकल सामान लिन ग्वाङजाउ उडेको थियो । एयरलाइन्सले सामान लिन साङ्घाई र हङकङमा विमान पठाएको थियो।

एयर इण्डियाले लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई मे ७ देखि इरान, इटाली लगायतका राष्ट्रबाट समेत फिर्ता ल्याउन थालेको छ। एयर इण्डियाले करिब १५ हजार भारतीयलाई फिर्ता ल्याउन ६४ उडान भर्नेछ।

एयरलाइन्सका कर्मचारीको सुरक्षाका लागि सरकारले निर्देशिका तयार पारेको छ । विमान चालक  दल तथा अन्य कर्मचारीहरूले उडान भर्नुअघि र पछि स्वाब परीक्षण अनिवार्य गराउनु पर्नेछ । 

उडानपछि उनीहरूलाई परीक्षणको रिपोर्ट नआएसम्म होटलमा राखिने र नेगेटिभ आएमा मात्रै एयरलाइन्सको गाडीले घर पुर्‍याइदिने गरेको छ । पाँच दिनपछि उनीहरूको पुनः परीक्षण गरेर मात्रै खटाइने गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस