अमेरिका, रुस सहभागी नहुँदा पनि कोराना विरुद्धको खोप निर्माणका लागि सहयोग बढ्दो, ८ अर्ब डलर संकलन

एजेन्सी

मंगलबार, २३ बैशाख २०७७, ०९ : ०४
अमेरिका, रुस सहभागी नहुँदा पनि कोराना विरुद्धको खोप निर्माणका लागि सहयोग बढ्दो, ८ अर्ब डलर संकलन

एजेन्सी । अमेरिका, रुस लगायतका कतिपय देश सहभागी नहुँदा पनि विश्वका शीर्ष नेताहरुले कोरोना भाइरस विरुद्धको खोप निर्माणका लागि आश्वयक बजेट जुटाउन पहल थालेका छन्। युरोपियन युनियनको पहलमा कोरोना भाइरसविरुद्धको खोपका लागि रकम जुटाउनका लागि अपिल गरिएकोमा विभिन्न क्षेत्रका व्यक्तिले सक्रियता देखाएका छन् र ८ अर्ब अमेरिकी डलर  जम्मा भएको छ।

इयूले सुरु गरेको सहयोग जुटाउने सम्बन्धी अनलाइन सम्मेलनमा विश्वका ४० देश तथा दाताले सहभागिता जनाएका हुन्।  इयू कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लायेनले सहयोग जुटेको रकमले कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानमा अत्यावश्यक रहेको विश्वव्यापी सहकार्यलाई सुरुवात गर्ने बताएकी छन् । यसले मानवता र एकताको साँचो अर्थ पनि देखाएको उनले बताइन् । तर खोप बनाउने अभियानमा अझै धेरै सहयोग र सहकार्यको खाँचो रहेको तर्फ उनले सचेत गराएकी छन् ।

अनलाइन सम्मेलनमा भाग लिएका मध्ये ३० भन्दा बढी देश, संयुक्त राष्ट्रसंघ, दातृ निकाय, अनुसन्धान इन्स्टिच्युडले रकम दान गरे । यस्तै पप गायिका म्याडोनाले ११ लाख अमेरिकी डलर सहयोग गर्ने वचन दिएकी छन् । सो सम्मेलन इयू कमिसनकी अध्यक्ष भोन डेर लायेनले ब्रसेल्सबाट सोमबार होस्ट गरेकी थिइन् । युरोपियन कमिसनले खोप निर्माणका लागि खडा गरिएको कोषमा एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । फ्रान्स, जर्मनी र साउदी अरेबियाले ५०० मिलियन युरो दिने बताएका छन् ।

यस्तै जापानले ८०० मिलियन अमेरिकी डलर भन्दा बढी सहयोग गर्ने वचन दिएको छ । सो सम्मेलनमा अमेरिका र रुसले भाग लिएनन् । कोरोना भाइरसको उत्पती भएको चीनको तर्फबाट सम्मेलनमा युरोपियन युनियनका लागि चिनियाँ राजदूतले भाग लिएका थिए । सम्मेलनबाट संकलन भएको मध्ये चार अर्ब ४० करोड अमेरिकी डलर खोप निर्माणका लागि जाने जनाइएको छ । यस्तै दुई अर्ब डलर उपचारको खोजीका लागि र एक अर्ब ६० करोड डलर खोपको परीक्षणका लागि छुट्याइएको इयूले उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य संगठनले लगतार भन्दै आएको छ कि प्रभावकारी खोप या औषधि बिना कोरोना भाइरसमाथि नियन्त्रण कायम गर्न सम्भव छैन । संयुक्त राष्ट्रसंघले पनि जनजीवन सामान्य अवस्थामा फर्किनका लागि खोप नै एक मात्र विकल्प रहेको बताएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर हालसम्म दुई लाख ५१ हजार तीन सयजना भन्दा बढीको ज्यान गएको जोन हप्किन्स विश्व विद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । यस्तै विश्वभर संक्रमितको संख्या ३५ लाख ८० हजार भन्दा बढी छ ।
 

प्रतिक्रिया दिनुहोस