नेपालमा भेटिएनन् नयाँ कोरोना संक्रमित

शनिबार, २० बैशाख २०७७, १७ : २३

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन । 

पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । 

अहिले नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसमा ४९ पुरुष र १० जना महिला रहेका छन् । संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन् । यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेको डा. देवकोटाले बताए । 

अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् । यसैगरी आरडिटी विधिबाट ४८ हजार ५ सय २९ वटा परीक्षण भएका छन् ।

प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश नम्बर २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५ वटा आरडटी परीक्षण भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय  ११, प्रदेश नम्बर ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिममा १३ हजार ८ सय २३ वटा आरडिटी परीक्षण भएका छन् ।

देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ८ सय ६५, प्रदेश नम्बर २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चि प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा रहेका छन् ।

काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।