कोरोना भाइरस सङ्क्रमितमध्ये २३.३ प्रतिशत भारतीय निको भई घर फर्किए

एजेन्सी

मंगलबार, १६ बैशाख २०७७, १९ : २१
कोरोना भाइरस सङ्क्रमितमध्ये २३.३ प्रतिशत भारतीय निको भई घर फर्किए

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित छ हजार ८६९ भारतीयहरू देशभरका विभिन्न अस्पतालमा उपचारपछि निको भई घर फर्किएका संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । 

मन्त्रालयका अनुसार निको भई घर फर्किने विरामीको दर २३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अघिल्लो दिन उपलब्ध गराएको तथ्याङ्कभन्दा निको हुने विरामीको सङ्ख्यामा करिब एक प्रतिशत सुधार देखिएको छ, मन्त्रालयका सहसचिव लव अग्रवालले बताउनुभयो ।

भारतमा विगत २४ घण्टामा थप एक हजार ५४३ जना सङ्क्रमित भई कूल सङ्क्रमितको सङ्ख्या २९ हजार ४४५ पुगेको र ९३७ व्यक्तिको सङ्क्रमणका कारण ज्यान गएको छ । विगत २४ घण्टामा भारतमा मृत्यु हुनेको सङ्ख्या ५१ रहेको छ ।

 कोभिड–१९ बारे तथ्याङ्क अद्यावधिक गराउँदै पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “भारतमा मङ्गलबारसम्म २९ हजार ४३५ जना सङ्क्रमित भएका छन् भने यीमध्ये एक हजार ५४३ जनामा विगत २४ घण्टामा सङ्क्रमण पुष्छि भएको छ । सङ्क्रमितमध्ये छ हजार ८६९ अर्थात् २३.३ प्रतिशत व्यक्ति पूर्ण निको भएका छन् । तथ्याङ्कले निको हुने व्यक्तिको सङ्ख्या दरमा सुधार देखाउँछ ।”

अग्रवालका अनुसार विगत २८ दिनमा विभिन्न १७ जिल्लामा नयाँ सङ्क्रमण देखिएको छैन । यसको मतलव हुन्छ कि हामीले नियमित सतर्कता अपनाउन आवश्यक रहेको छ ।