चितवन । लकडाउनसँगै बन्द भएको यहाँको भरतपुर अस्पतालका सबै सेवा आजदेखि शुरु भएको छ । चैत ११ गते सरकारले लकडाउन गरेसँगै आकस्मिकबाहेकका सेवा बन्द भएका थिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार आज बिहान १० बजेदेखि १२ बजेसम्म अस्पतालमा आएका बहिरङ्गका बिरामीलाई सेवा दिन थालिएको छ । बिहान ९ः३० देखि ११ बजेसम्म टिकट काट्ने र दुई घण्टा परीक्षण गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
सामाजिक दूरी कायम गर्नका लागि अस्पतालले विभिन्न १४ विभागलाई फरक ठाउँ व्यवस्थापन गरेको छ । कतिपय पहिलेकै ठाउँ छन् भने कतिपय नयाँ स्थानमा व्यवस्थापन गरिएको छ । गत वर्षहरुमा यतिबेला दैनिक दुई हजार बिरामी बहिरङ्ग सेवामा आउने यस अस्पतालमा लकडाउनका कारण उपचारका लागि आएका बिरामी त्यसै फर्कनुपर्ने बाध्यता थियो ।
भरतपुर अस्पताललाई कोरोना रोगको दोस्रो श्रेणीका बिरामी उपचार गर्ने अस्पतालका रूपमा राखिएको छ । तिवारीका अनुसार हाल अस्पतालमा एक जना कोरोना रोगका सङ्क्रमित भए पनि उनलाई विशेष ढङ्गबाट निगरानीमा राखिएकाले अन्य जोकोहीलाई खतरा छैन ।
अस्पतालले सेवा शुरु गरेसँगै पहिलो दिन १२० ले उपचार लिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । केन्द्रीयस्तरको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । पौडेलका अनुसार एक वर्षमा तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिँदै आएका छन् ।
काठमाडौँको प्रसूतिगृहपछि धेरै प्रसूति गराउने अस्पताल भरतपुर हो । गत वर्ष १३ हजार ५४५ जनाको प्रसूति यसै अस्पतालमा भएको थियो । न्यून शुल्कमा गुणस्तरीय सेवा दिने अस्पतालको बहिरङ्ग सेवा नपाएपछि बिरामीले दुःख पाएको समाचार राससले गतसाता प्रकासशित गरेको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट
चितवनमा चिसोका बिरामी बढे, सावधानी अपनाउन आग्रह