अमेरिकालाई उत्तर कोरियाको अर्को चेतावनी, ‘वार्ता र युद्ध दुवैका लागि तयार छौँ’

बुधबार, ०९ फागुन २०७४, ०९ : ०५
अमेरिकालाई उत्तर कोरियाको अर्को चेतावनी, ‘वार्ता र युद्ध दुवैका लागि तयार छौँ’

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसिएनले सोमबार सार्वजानिक गरेको बयानमा उत्तर कोरियाले लडाइ र वार्ता दुवैका लागि तयार रहेको भन्दै अमेरिकालाई धम्कीपूर्ण सन्देश दिएको बताएको छ । रिर्पोटमा उल्लेख गरिएअनुसार उत्तर कोरियाले अमेरिकामाथि दक्षिण कोरियासँगको सम्बन्धमा अवरोध पुर्याउन खोजिरहेको समेत आरोप लगाएको छ ।

अमेरिकाले कोरियाली प्रयाद्विपमा पुनः तनाव उत्पन्न गराउने प्रयास गरिरहेको उत्तर कोरियाको भनाइ रहेको छ । खबरमा उल्लेख गरिए अनुसार उत्तर कोरियामाथि कुनै पनि प्रकारले हानि पुर्याउन खोजेमा अमेरिकाले त्यसको भारी मूल्य चुकाउनुपर्ने बताइएको छ । सो खबर अमेरिकी राज्य सचिव रेक्स टिलरसनको बयानको प्रतिक्रियामा आएको बताइएको छ ।

आइतबार एक कार्यक्रममा टिलरसनले प्योङयोङ वार्ताका लागि तयार नभएसम्म सबैतिरबाट लगातार दबाब दिइरहने बताएका थिए । यसका साथै अमेरिकी प्रशासनले उत्तर कोरिया भ्रमण सम्बन्धि व्यङ्ग्यात्मक सुझाव दिएकामा पनि उत्तर कोरियाले आपत्ति जनाएको छ । गत महिना अमेरिकी प्रशासनले उत्तर कोरिया भ्रमणमा जाने सबै पर्यटकहरुलाई जानुअघि आफ्ना सबै परिवारसँग मृत्युबारे र वकिलसँग इन्स्योरेन्सबारे कुरा गरेर मात्र जान भन्दै विरोधपूर्ण सल्लाह दिएको थियो । वास्तवमा अमेरिकी नागरिक ओट्टो वार्मवियरको उत्तर कोरियाली जेलमा शारीरिक र मानसिक यातनाका कारण मृत्यु भएपछि अमेरिकाले उनका पितालाई पनि ओलम्पिक खेलमा उत्तर कोरियासामु उपस्थित गराएका थिए जसबारे उत्तर कोरियाले राम्रो प्रतिक्रिया दिएको थिएन ।

यस घटनालाई लिएर उत्तर कोरियाको विश्वभर आलोचना भएको थियो । त्यससँगै उता अमेरिका र दक्षिण कोरियाले यसअघि स्थगित गरिएको संयुक्तसैन्य अभ्यास जारी राख्ने सम्बन्धि वार्ता अघि बढाउने बताएको छ । केही समय अगाडि मात्र उत्तर कोरियाका विदेश मन्त्रीले अमेरिकालाई गम्भीर चेतावनी दिँदै सैन्य अभ्यास जारी राखे यसप्रति उत्तर कारियाको तर्फबाट राम्रो प्रतिक्रिया नआउने भन्दै चेतावनी दिएका थिए । यस्तोमा अहिले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले उत्तरसँगको सम्बन्ध सुधार भइरहेको बताइरहदा फेरि सैन्य अभ्यास सुरु गरिने भएपछि विवाद उत्पन्न हुने निश्चित रहेको बताइएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस