राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

पत्रपत्रिकाबाट

मंगलबार, १६ बैशाख २०७७, ०६ : ५७
राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

फाईल फोटो

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार टेलिफोन गर्दैै पछिल्लो अवस्थाबारेमा छलफल गरेका छन्।  वार्ता कोरोना भाइरस महामारीमा केन्द्रित रहेको जानकारी दिइएको छ।  चिनियाँ राष्ट्रपति सीले चीनले महामारीको नियन्त्रणमा कठिनाइको सामना गर्दा नेपाल र नेपाली जनताले देखाएको दृढ समर्थनबाट दुई देश र जनताबीचको गहिरो मित्रता झल्किएको बताएका थिए।  नेपालमा देखिएको महामारीप्रति चीन चिन्तित रहेको र नेपाललाई महामारीविरूद्ध लड्न निरन्तर साथ र सहयोग गर्दै जाने पनि चिनियाँ राष्ट्रपतिले बताए। 

राष्ट्रपति सीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाल सरकार र जनताले चाँडोभन्दा चाँडो महामारीलाई जित्ने विश्वास पनि व्यक्त गरे। 

सीले महामारीपछि दुवै पक्षले गत वर्षको पारस्परिक भेटमा भएका रणनीतिक साझेदारीका सहमतिलाई कार्यान्वयन गर्ने तथा निरन्तर रूपमा अगाडि बढाउने अपेक्षा पनि गरे।  वार्ताको क्रममा राष्ट्रपति सीले अचानक नयाँ कोरोना भाइरस महामारीको सामना गर्नुपर्दा चीन सबैभन्दा कठिन अवस्थाबाट गुज्रेको स्मरण गराउँदै चीनले परिस्थितिलाई राम्ररी बुझेको पनि बताएका थिए। 

उनले चीनको दीर्घकालीन आर्थिक वृद्धिमा कुनै परिवर्तन नआउनेमा पूर्ण विश्वस्त रहेको पनि उल्लेख गरेका थिए।  महामारीका चुनौतिहरूको सामना गर्न अन्तर्राष्ट्रिय समुदाय पहिलेभन्दा अझ बढी ऐक्यवद्ध हुनुपर्ने र सहयोगको खाँचो भएको भन्दै बहुपक्षीयता कायम गर्न र अन्तर्राष्ट्रिय न्याय र नैतिकताको समर्थनको अझ बढी आवश्यकता रहेको औंल्याए।  उनले भने, ‘चीनले साझा मानव भाग्य समुदायको निर्माणको अवधारणालाई समर्थन दिनेछ, महामारीबिरूद्धको लडाईमा सक्रिय रुपमा अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिने छ।  विश्व स्वास्थ्य संगठनलाई अग्रणी भूमिका निर्वाह गर्न सहयोग गर्नेछ। ’

वार्तामा नेपालकी राष्ट्रपति भण्डारीले राष्ट्रपति सीको बुद्धिमत्तापूर्ण नेतृत्वमा चिनियाँ सरकारले महामारीलाई सफलतापूर्वक नियन्त्रण गर्न निर्णायक र प्रभावकारी कदम चाल्नुका साथै विश्वव्यापी रूपमा महामारीविरूद्धको लडाइँ गर्न सक्रिय भूमिका खेलेको बताइन्। ‘नेपाली पक्षले यसको उच्च कदर गर्दछ र विश्वास गर्दछ कि चीनको अनुभवले महामारीलाई पराजित गर्न अन्य देशहरूको विश्वास बढाउने छ’ उनले भनिन्। 

गत वर्ष राष्ट्रपति सीद्वारा गरिएको नेपालको राजकीय भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ युगमा प्रवेश गरेको पनि बताइन्।  नेपाललाई महामारीविरूद्ध लड्न आवश्यक चिकित्सा सामग्री उपलब्ध गराएकोमा चीनप्रति राष्ट्रपति भण्डारीले कृतज्ञता व्यक्त गरेकी थिइन।  चीनसँगै मिलेर ‘बेल्ट एण्ड रोड’ को निर्माण र मानवजातिका लागि साझा भाग्य समुदायको निर्माणको प्रवध्द्र्धन गर्न इच्छुक रहेको पनि राष्ट्रपति भण्डारीले फोन संवादमा बताएको चिनियाँ सञ्चार माध्यमले जनाएकाका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस