उत्तर कोरियाका राष्ट्रपति किम जोङ ‘स्वस्थ्य र जिवित’ रहेको खुलासा

सोमबार, १५ बैशाख २०७७, १० : ०४
उत्तर कोरियाका राष्ट्रपति किम जोङ ‘स्वस्थ्य र जिवित’ रहेको खुलासा

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङका स्वास्थ्य स्थितीबारे विश्वभरि नै कौतुहलता उत्पन्न भईरहेका बेला उनी स्वस्थ्य र जिवित रहेको खबर सार्वजनिक भएको छ ।  किम ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले उल्लेख गरेको छ । मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर त कतै मृत्यु भईसकेको समाचार आईरहेका बेला  दक्षिण कोरियाको यस्तो टिप्पणी आएको हो ।

किमको स्वास्थ्य राम्रो रहेको र उनी जीवित नै रहेको दक्षिण कोरियाका अधिकारीले बताएका हुन् । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनका राष्ट्रिय सुरक्षा सम्बन्धी विशेष सल्लाहकार मून–चुङ्ग–इनले सिएनएनसँगको अन्तर्वार्तामा भनेका छन्, नेता किम जोङ जीवित र राम्रो अवस्थामा छन् ।’

नेता किम अहिले वुन्सान नामको रिसोर्ट टाउनमा रहेको उनले बताएका छन् । उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रको वुन्सानमा नेता किम अप्रिल १३ देखि रहेको दक्षिण कोरियाली राष्ट्रपति मूनका विशेष सल्लाहारले बताएका छन् ।

अहिलेसम्म सो क्षेत्रमा कुनै पनि असामान्य गतिविधि नदेखिएको उनले सिएनएनसँग बताएका हुन् । नेता किम अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका छन् । नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका छैनन् ।

त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबरहरु आइरहेका छन् । कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका छन् ।गएको सोमबार दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो । 

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था वा उनी कहाँ छन् भन्ने बारे केही जानकारी दिएको छैन । अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो । तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुरा खारेज गरेका छन् ।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी तेस्रो पुस्ताका शासक हुन् । चीनले पनि किमको स्वासथ्य स्थितीबारे चासो राख्दै विशेषज्ञ सहितको ३ जना स्वास्थ्यकर्मीको टोली उत्तर कोरिया पठाएको छ । 

प्रतिक्रिया दिनुहोस