लण्डन । कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहनु भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम शुरु गर्नुहुने भएको छ ।
लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उहाँले काम शुरु गर्न तयार हुनुभएको अधिकारीहरुले जनाएका छन् ।
उहाँले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताउनु भएको हो ।
प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाह अनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिनुभयो ।
प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात बिताउनु भएको थियो । त्यसपछि एक हप्ता सामान्य शैयामा बस्नु भएको थियो ।
सघन कक्षबाट बाहिरिएपछि उहाँले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आउनु भएको थियो ।
प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उहाँको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आउनु भएको थियो ।
कोरोनाभाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा कोरोनाभाइरसका कारण अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौं देश भएको छ । बेलायतभन्दा अगाडी अमेरिका, इटली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
पछिल्लो दुई हप्तामा बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ । (रासस–एएनआई)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बेलायतका राजा चार्ल्ससमक्ष राजदूत घिमिरेद्धारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए