किम जोनको उपचारमा सघाउन चीनले पठायो विशेषज्ञ चिकित्सकसहितको टोली, स्वास्थ्य अवस्थाबारे अन्यौल कायमै

आइतबार, १४ बैशाख २०७७, ०९ : १४
किम जोनको उपचारमा सघाउन चीनले पठायो विशेषज्ञ चिकित्सकसहितको टोली, स्वास्थ्य अवस्थाबारे अन्यौल कायमै

एजेन्सी । उत्तर कोरियाका नेता किम जोनको उपचारमा सघाउन चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली उत्तर कोरिया पठाएको छ । उत्तर कोरियाका नेता किम जोनको उपचारमा सल्लाह दिनका लागि  चीनले स्वास्थ्य विशेषज्ञसहित तीन जनाको टोली पठाएको  रोयटर्सले उल्लेख गरेको छ ।

उत्तर कोरियाका नेता किमको स्वास्थ्य अवस्थाका सम्बन्धमा विवादास्पद खबरहरु आइरहेका बेला डाक्टरसहित चिनियाँ चिकित्सकहरुको टोली कोरिया पुगेका छन् ।  भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीको उत्तर कोरिया हेर्ने अन्तर्राष्ट्रिय कमिटिका उच्च अधिकारी छन् । उनीहरु बिहीबार बेइजिङ्गबाट उत्तर कोरिया गएका हुन् ।

विषयको गाम्भीर्यताले स्रोतले पहिचान खुलाउन नमानेको रोयटर्सको भनाई छ । चीनको विदेश मन्त्रालयले पनि यस सम्बन्धमा तत्काल टिप्पणी गर्न अस्वीकार गरेको छ । गएको सोमबार दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो । 

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था वा उनी कहाँ छन् भन्ने बारे केही जानकारी दिएको छैन । किम केही समयदेखि सार्वजनिक रुपमा देखिएका छैनन् । अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो । तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुरा खारेज गरेका छन् ।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी तेस्रो पुस्ताका शासक हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाका नेता किम जोन उन गम्भीर बिरामी परेको भन्ने कुरा आफूलाई सत्य नलागेको बताएका थिए ।

दक्षिण कोरिया र चीनका अधिकारीले नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनी जीवनसँग संघर्ष गरिरहेको भनेर आएका खबर खारेज गर्दै आफूहरुले उत्तर कोरियामा कुनै पनि प्रकारको असामान्य गतिविधि नदेखेको बताउँदै आएका छन् । दक्षिण कोरियाको गुप्तचर निकायको स्रोतले शुक्रबार किम जीवितै रहेको र केही दिनमा उनी सार्वजनिक हुने दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस