कोरोना परिक्षण गर्ने पिसिआर किट अनुदानमा आउदा पनि सरकारको वेवास्ता, किन्ने अनि कमिसनको चक्कर

विहीबार, ११ बैशाख २०७७, ०८ : ४१
कोरोना परिक्षण गर्ने पिसिआर किट अनुदानमा आउदा पनि सरकारको वेवास्ता, किन्ने अनि कमिसनको चक्कर

काठमाडौं ।  १० हजारको कोरोना परीक्षण गर्न मिल्ने पिसिआर किट अनुदानमा पाउँदा पनि सरकारले वेवास्ता गरेको छ ।  सिंगापुरको टेमासेक फाउन्डेसनले दिएको फोर्टिट्युड किट २.० ल्याउन सरकारले रुचि नदेखाएपछि निजी क्षेत्रले जहाज चार्टर्ड गरेर ल्याइदिँदै छ । 

टेमासेक फाउन्डेसनले ४ अप्रिलमा प्रधानमन्त्री केपी ओलीकै नाममा पत्र लेखेर १० हजार नमुना परीक्षण गर्ने किट अनुदानमा दिने जानकारी गराएको थियो । ती किट नेपाल आफैँले ल्याउनुपर्ने टेमासेकले बताएको थियो । तर, सरकारले १८ दिनसम्म त्यसमा कुनै चासो नदेखाएपछि तीन व्यावसायिक समूहले सामूहिक रूपमा भाडा तिर्ने गरी किट ल्याउन जहाज चार्टर्ड गरेका छन् । 

टेमासेकले भारतलाई पनि १० हजार तथा भुटान र श्रीलंकालाई पाँच–पाँच हजार टेस्ट गर्न मिल्ने किट अनुदानमा दिएको छ । उनीहरूले पिसिआर रिजेन्ट ल्याइसकेका छन् । टेमासेकले संसारका ४० देशलाई टेस्टिङ किट अनुदानमा उपलब्ध गराएको छ ।  व्यवसायीहरू शेखर गोल्छा, पशुपति मुरारका र श्री एयरलाइन्सले ३३–३३ प्रतिशत भाडा व्यहोर्ने गरी बिहीबार जहाज सिंगापुर जाँदै छ । सामान ल्याउन व्यवसायी रञ्जित आचार्यले सहजकर्ताको भूमिका निर्वाह गरेका छन् । ‘तीनवटै समूहले ३३–३३ प्रतिशत भाडा व्यहोर्ने गरी चार्टर्डमा जहाज पठाउन लागिएको हो,’ श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले भने । 

लामो समयदेखि सामान सिंगापुरमा रहेको भन्ने थाहा भएपछि व्यवसायीको आग्रहमा श्री एयरलाइन्सको जहाज जान लागेको मानन्धरले बताए । सिंगापुर उडान गर्न सात देशको अनुमति चाहिने भएकाले उडानमा केही दिन ढिलो भएको उनले बताए । काठमाडौं–सिंगापुर–काठमाडौंं उडानमा करिब ११ घन्टा लाग्नेछ । प्रतिघन्टा आठ हजार डलरमा जहाज चार्टर्ड गरिएको स्रोतले जनाएको छ । जसको कुल भाडा भाडा ८८ हजार डलर हुन्छ । टेमासेकले अनुदानमा दिन लागेको सामानको मूल्य जहाजको भाडासहित दुई करोड ८० लाख हुने एक व्यवसायीले बताए । तर, सरकारले खरिद गरेको दरअनुसार सो सामानको मूल्य करिब पाँच करोड पर्न जाने देखिन्छ । 

सिंगापुरको कम्पनीले अनुदानमा सामान दिने जानकारी दिएको भए पनि जहाज चार्टर्ड नै गर्नुपर्ने भएकाले ल्याउने विषयमा अन्योल भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले बताए । ‘सामान दिने विषयमा सिसिएमसीमा पत्राचार भएको रहेछ, हामीलाई पनि जानकारी आयो, सो सामान लिन श्री एयरलायन्स जाँदै छ, त्यसैमा ल्याउलान्,’ उनले भने ।  टेमासेक फाउन्डेसन सिंगापुरको प्रभावशाली व्यावसायिक समूह टेमासेक होल्डिङअन्तर्गतको हो । त्यसका अध्यक्ष लिम बुन हेङ सिंगापुरका पूर्वमन्त्री हुन् भने प्रमुख कार्यकारी अधिकृत हो चिङ वर्तमान प्रधानमन्त्री ली ह्सिएन लुङकी श्रीमती हुन् । सिंगापुरमा भएका नेपालीहरूको पहलमा उक्त सामग्री नेपाललाई प्राप्त भएको हो ।

श्री एयरलाइन्सको जहाजमा मुटुरोगका लागि आवश्यक एजी टेस्ट किटसमेत ल्याउन लागिएको छ । त्यस्तै, मध्यपुर ठिमी नगरपालिकाले मगाएको सय पिसिआर टेस्ट किटसमेत सोही जहाजमा आउँदै छ । चार्टर हुने जहाजमा कुनै पनि व्यवसायीका सामान भने आउनेछैन । सामग्री विमानस्थलबाटै सरकारलाई हस्तान्तरण गर्ने व्यवसायीहरूको तयारी छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार मात्रै जेट इन्जिन जहाज भएको श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय कार्गो उडानका लागि अनुमति दिएको छ ।

‘श्री एयरलाइन्सका बाम्बार्डियरका सिआरजे–७०० र सिआरजे–२०० जहाजबाट एसिया–प्रशान्त क्षेत्रबाट कार्गो उडान गर्नका लागि एयरलाइन्सले अनुमति पाएको हो,’ प्रवक्ता मानन्धरले भने । हेलिकोप्टर उडानका लागि अन्तर्राष्ट्रिय उडान अनुमतिपत्र पाएको भए पनि एयरलाइन्सले फिक्स्ड विङका यात्रुवाहक जहाज सञ्चालनका लागि अन्तर्राष्ट्रिय उडान अनुमति भने पाएको छैन । यात्रुवाहक उडानका लागि अनुमतिको प्रक्रिया चलिरहेको एयरलाइन्सले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस