लकडाउनमा लक्की चरा !

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०७७, १७ : ४८
लकडाउनमा लक्की चरा !

चितवन । यतिबेला कोरोना भाइरसका कारण देश लकडाउनमा छ । यत्र, तत्र, सवत्र् तन, धनको क्षति भइरहेको छ । यस्तो लकडाउनको बेला कसलाई फाइदैफाइदा होला ? अवश्य, यतिबेला प्रकृतिमा रमाउने चराचुरुङ्गीलाई लाभैलाभ भएको छ ।

एकातिर मानव भीडभाड कम छ, ध्वनी तथा वायु प्रदुषण छैन भने अर्कोतिर वसन्त ऋतुको समयले चारैतिर हरियाली छाइरहेको छ, जसका कारण चराचुरुङ्गीले अघिपछिको तुलनामा थप स्वतन्त्रता पाइरहेका छन् । 

११ चैतबाट सुरु भएको लकडाउनपछि चराचुरुङ्गीले स्वतन्त्रता पाएका चराविद् बासु बिडारी बताउँछन् । उनी भन्छन्, ‘कुनै अवरोधबिना चराहरु निर्धक्कसँग उड्न पाएका छन्, कसैको डर छैन, यतिबेला उनीहरुलाई कुनै डिस्टर्ब छैन ।’

चैतदेखि जेठसम्म चराको प्रजनन्को समय मानिन्छ । चितवन राष्ट्रिय निकुञ्ज, यस आसपासका सामुदायिक वन तथा जंगलहरुमा श्रीलंका, अफ्रिका र भारतका विभिन्न ठाउँबाट आगुन्तक चराहरु प्रजनन्को लागि बसाइँसराइँ गरी आउँछन् । 

लकडाउनले कोलाहल रोकिँदा प्रजनन र बच्चा हुर्काउने तथा विचरणमा चराचुरुङ्गीलाई थप स्वतन्त्रता मिलेको चराविद् बिडारीले बताए । उनी भन्छन्, ‘लकडाउनमा लक्की बनेका चराचुरुङ्गी तथा वन्यजन्तुहरु नै होलान् । 

यतिबेला ६३ प्रजातिका चराहरु बसाइँ सरेर चितवन, बर्दिया, पर्सा, लुम्बिनी, बाँके, कोशी टप्पुलगायतका जंगलमा प्रजननको लागि आएका चराविद्हरुको भनाइ छ । चराविद् बिडारी भन्छन्, ‘धमाधम गुँड बनाइरहेका छन्, बच्चा कोरलेर हुर्केपछि लिएर जान्छन् । 

उनका अनुसार विगतको तुलनामा चराहरुको गुँडको संख्या बढेको छ ।  बसाइँसराइ गरी नयाँ ठाउँमा प्रजनन गर्न आउने चरालाई मानवीय क्रियाकलापका कारण गुँड बनाउन र प्रजनन गर्न असहज हुने गथ्र्याे । अहिले यस्ता चरालाई धेरै नै राहत मिलेको उनले बताए । 

यतिबेला तराईका विभिन्न जिल्लाहरुमा गृष्मकालीन चराहरु कुक्कु, कोइली, स्वर्गचरी, काफल पाक्यो कोइली, पूर्वीय कोइली, जुरे कोइली, ठूलो जुरे कोइली, स्वर्गचरी, नीलकण्ठे अर्जुनक, नीलतुथो अर्जुनक, नीलश्वेत अर्जुनक, चिबे कोइलीले गुँड बनाइरहेका छन् । 

‘चराको प्रजननको लागि लकडाउन फलदायी भएको छ, यसले चराको संख्या र प्रजातिको संख्या बढ्ने देखिन्छ’ अर्का चराविद् टीका गिरीले भने । उनका अनुसार वसन्त ऋतुको समयमा हुन गएको लकडाउनले विश्वमा मानवीय क्षति पुगे पनि चरालाई भने लाभ भएको छ ।  

होहल्ला र कोलाहल शून्यप्रायः हुँदा घर, आँगन, कौसी र करेसाबारीमा पहिले नदेखिएका चराका प्रजातिहरु देखिन थालेका उनी बताउँछन् । ‘कोलाहल नहुँदा बसाइँसराइ गरेर नेपाल भित्रिएका चराको दिनचर्या सुखद छ’ उनले भने, ‘गर्मीमा आउने सबैजसो चराले यतिबेला बच्चा कोरल्न थालेका छन्, यस्तो शान्त वातावरणमा कोरलिएका बच्चाहरु स्वस्थ पनि हुन्छन् ।’

चराविद्का अनुसार बसाइँसराइ गरेर आएका चरामध्ये कोइली प्रजातिले अरुलाई नै बच्चा हुर्काउने जिम्मा लगाउँछ । कागले कोइलीको बच्चा हुर्काउँछ । काफल पाक्योले चिबे चरालाई जिम्मा दिन्छ ।
नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् । तीमध्ये चितवनमा ६४१ प्रजातिका चरा छन् ।  करिब ८६ प्रतिशत चरा बासस्थान विनाशले नै संकटापन्न अवस्थामा पुगेका चराविदको भनाइ छ ।


 

प्रतिक्रिया दिनुहोस