– नारायण अधिकारी
चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जना कोरोना भाइरसका सङ्क्रमित नजिकका आफन्तको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गरिएको छ । राप्ती नगरपालिकामा गरिएको परीक्षणमा सङ्क्रमितसँगै दिनहुँजसो उठबस गरेका आठ आफन्तको जाँच गरिएको र ती सबैको नतिजा नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।
उनीहरुको सम्पर्कमा आएका दुई सवारी चालकको भरतपुरमा र अन्यको राप्तीमै सो जाँच गरिएको हो । उनीहरु सबैलाई राप्ती नगरपालिका–८ स्थित ब्रह्मनगर माविको क्वारेन्टाइनमा राखिएको राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो । सङ्क्रमित भएका व्यक्तिमा पनि कुनै प्रकारको लक्षण नदेखिरहेको अवस्थामा नजिकैका आफन्तको पनि थप परीक्षण गर्नुपर्ने भएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको उहाँको भनाइ छ । उनीहरुसँगै स्थानीय गाउँले र भेटघाट भएका सबै व्यक्तिलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी नगरपालिकाले गरेको छ ।
यसैबीच सङ्क्रमित देखिएका राप्ती नगरपालिकाको वडा नं ८ मा अन्य स्थानका बासिन्दालाई प्रवेशमा निषेध गरिएको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइसँगै उनीहरु चैत ५ गते चितवन आएकाले उनीहरुको सम्पर्कमा आएका सबैको पहिचान गर्न कठिन भएको छ । उनीहरु चढेर आएको माइक्रोबसको ट्राफिक प्रहरीले खोजी गरिरहेको छ । सङ्क्रमित भरतपुर अस्पतालको आइसोलेसनमा छन् । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सङ्क्रमण देखिएसँगै जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै