उपत्यकामा लकडाउन : प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा

शनिबार, ०६ बैशाख २०७७, १८ : १५
उपत्यकामा लकडाउन : प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा

– सञ्चिता घिमिरे
काठमाडौँ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा छलेर स्थानीयवासी खाद्यान्न किन्न र  घुम्नका लागि हिँडिरहेको भेटिन्छ । 
शनिबार  प्रहरीले पसल बन्द गराउन हिँडिरहँदा जडीबुटी, पेप्सीकोला, लोकञ्थली, इमाडोललगायतका स्थानमा प्रहरीको आँखा छलेर पसल खोलिरहेको देखिन्थ्यो । 
    स्थानीय तहले कुन समयमा पसल खोल्ने भनेर तोके पनि यी स्थानमा पुग्दा दिनभरजसो नै भित्री भागमा पसल खुला पाइएको छ । अधिकांश पसलमा आधा सटर खोलेर व्यापार गरिरहेको देखिन्थ्यो । व्यापारीले प्रहरी र मिडियाका प्रतिनिधि आएको देख्नासाथ बन्द गर्ने र उनीहरु जानासाथ खोल्ने गरेका छन् । कतिपय व्यक्ति मोटरसाइकल र स्कुटरमा पानी, ग्यास किन्न हिँड्ने गरेको दृश्य विभिन्न स्थानमा दैनिक देखिन्छ ।
     
तरकारी र खाद्यान्नका ती पसलमध्ये कतिपयले घरभित्रबाट दिनभर बिक्री गरेको देखिन्थ्यो । ती पसमा बिहान तोकिएको अवधिमा सामाजिक दूरी कायम गरेको भए पनि दिउँसोको समयमा एकै पटक भीडभाड देखिन्छ र धेरै उपभोक्ता एकैपटक पसलभित्र सामान किनिरहेका दृश्य भित्री सडक छेउमा पसलमा देखियो । नरेफाँटकी सन्ध्या चापागाईँ दिउँसो झण्डै १२ बजेतिर चाउचाउ किन्न जाँदै गर्दा भेटिनुभयो । उहाँ बिहान आफूलाई याद नभएकाले अहिले किन्न हिँडको भन्दै हुनुहुन्थ्यो । प्रहरीको आँखा छलेर सामान किन्न जान उहाँ हतारमा हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “छोराछोरीले लकडाउन भने पनि भनेको कुरा नभइ मान्दैनन् अनि जानैपर्छ ।”

खाद्यान्न किन्नका लागि मात्रै नभएर हावा खान वा खुट्टा तन्काउन हिँडेको भन्ने व्यक्ति पनि धेरै भेटिन्छन् । तीमध्ये कतिपय मधुमेह, उच्च रक्तचाप, मुटुरोगलगायतका दीर्घरोगका बिरामी छन् । घरमै बसिरहँदा गाह्रो हुने भन्दै दैनिक पाँच÷दश मिनेट हिँड्ने गरेको लोकञ्थलीका भीम मगरले बताउनुभयो । झण्डै एक दशकदेखि मधुमेहको नियमित औषधि खाँदै आउनुभएका उहाँ पहिले बिहान–बिहान हिँड्ने गर्नुभएको थियो । लकडाउनका समयमा बिहान जतासुकै भीड भएकाले खाना खानासाथ हिँड्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खोला छेउमा कोही नभेटिने हुँदा मनोहरा किनारैकिनार हिँड्ने गरेको छु ।”

लकडाउनको कार्यान्वयन गराउन प्रहरी मुख्य सडक र भित्री सडकमा समेत खटिएका देखिन्छ । बिहान पसल बन्द गराउनेदेखि दिउँसो छड्के हेर्नका लागि प्रहरी खटिइरहेका छन् । प्रहरीले लकडाउन अवज्ञा गर्दै सडकमा हिँड्ने झण्डै तीन हजार ६०० लाई सडकमै तीन घण्टा उभ्याएर मात्रै पठाइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । लकडाउन अझै कडाइ गर्ने सरकारको निर्णयसँगै यस्तो कारवाहीमा पर्नेको सङ्ख्या बढिरहेको छ । अझै पनि धेरै नागरिकले लकडाउन मेरा लागि भन्दा पनि नेपाल प्रहरीका लागि भन्ने बुझ्दा यसको अवज्ञा भइरहेको चोकचोकमा खटिने प्रहरी बताउँछन् ।

कतिपय व्यक्ति हातमा थोरै तरकारी बोकेर बिहानभरि घुम्ने गरेको  पाइएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । सरकारले अत्यावश्यक कामका लागि उपलब्ध गराएको ‘सवारी पास’ पनि दुरुपयोग भइरहेको छ । कतिपय व्यापारीको त्यही सटरमा पसल र त्यहीभित्र पकाउने, खाने र त्यही सुत्ने भएकाले पनि सटर आधा खोलिएको पाइएको छ । प्रहरीले कारवाही नगर्दा पनि गरेन भन्ने र गर्दा पनि त्यसको विरोध हुने गरेको उहाँको भनाइ छ । विभिन्न बहानामा छोटो दूरीमा हिँडिरहेका पैदलयात्रु हुन् वा काठमाडौँ हुँदै काठमाडौँ बाहिर घरसम्म जान लागेका नागरिकलाई रोक्दा र नरोक्दा दुवै अप्ठ्यारो भएको उहाँले बताउनुभयो । अत्यावश्यक सामग्री किन्न जाँदा पनि प्रहरीले माक्स लगाउन, समूहमा नहिँड्न भन्ने गरेको छ । उहाँले भन्नुभयो, “उल्टै प्रहरीलाई जे गरे के मतलब भन्दै झगडा गर्ने र एर्काथरि सामाजिक सञ्जालमा भिडियो हाल्ने गर्छन् ।”

आम नागरिकलाई सरकारले सामाजिक दूरी कायम गर्न भने पनि नेपाल प्रहरीमा  लागु हुनसकेको छैन । प्रहरीले लामो समयसम्म र धेरै दिनदेखि कोरोना ड्युटी गरिरहेकाले छन् । उनीहरुले स्वास्थ्य सुरक्षाका लागि माक्स र स्यानिटाइजरको प्रयोग गर्दै लामो समयसम्म ड्युटीमा खटिरहेको उहाँले बताउनुभयो । अरु नियमित ड्युटीसँगै लकडाउन कार्यान्वयनका लागि सडकमा खटिएका प्रहरीलाई काममा उत्साह जगाउन जरुरी छ । प्रहरीलाई एकातिर कामको चाप र अर्कातिर चुनौती दुवै भएको उहाँले बताउनुभयो । नागरिकले मेरो लागि लकडाउन गरिएको हो भनी बुझेर घरमै बस्दा उनीहरु र प्रहरी दुवैलाई राम्रो हुन्छ । उहाँले भन्नभयो, “नेपाल प्रहरी अहिले पनि बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म नियमित ड्युटीमा खटिइरहेका छन् ।” (रासस)