कविता :  सरकार सुतिरहेको छ

शनिबार, ०६ बैशाख २०७७, ११ : ४९
कविता :  सरकार सुतिरहेको छ

साङ्केतिक फोटो

- चन्द्र गुरुङ

 

नहोस् नयाँ दिनको आगमन

हाँगा हाँगामा बसेर

सुरिलो स्वरमा गीत नगाऊ

नचिरबिराउ ए चराचुरुङ्गीहरू

सरकार सुतिरहेको छ ।

 

नजन्मियोस् नयाँ सौन्दर्य

नफुलोस् एउटा फूल

कोपिला फूल बनेर नमगमगाओस्

हल्ला गर्दै हूलका हूल भमरा आउनेछन्

सरकार सुतिरहेको छ ।

 

नगाऊ जीवनको कुनै गीत

हर्षोल्लास् मनाउँदै नबग ए खोलाहरू

नाचगान गर्दै ओरालो नजाउ

पटक्कै नचिच्याउ

सरकार सुतिरहेको छ ।

 

ननिस्कियोस् कुनै मीठो धुन

बादल नउडोस, हावा नचलोस्

रिमझिम वर्षात् नझरोस्

नहोस् कुनै प्रकारको होहल्ला

सरकार सुतिरहेको छ ।

 

नचम्किए, नचम्कियोस् जून

घाम नउदाए नउदाओस्

ताराहरू नटिलपिलाए नटिलपिलाउन्

भीरपहरा गीत गाउँदै नडुल ए बतास

सरकार सुतिरहेको छ ।

 

नथालियोस् उमंगको यात्रा

ए खुट्टाहरू नयाँ जोशमा नहिँड

यी सहस्र पदचापले

वातावरणको मौनता भङ्ग हुनेछ

सरकार सुतिरहेको छ ।

 

सरकार सुतिरहको छ साथी

तिमी चुपचाप बस !

प्रतिक्रिया दिनुहोस