जापानका लगाइएको सङ्कटकाल देशव्यापी विस्तार, मे ६ तारिखसम्म कायम रहने

एजेन्सी

विहीबार, ०४ बैशाख २०७७, २१ : १२
जापानका लगाइएको सङ्कटकाल देशव्यापी विस्तार, मे ६ तारिखसम्म कायम रहने

काठमाडौँ । जापानका प्रधानमन्त्री सिन्जो आवेले सङ्कटकाललाई देशव्यापी विस्तार गर्नुभएको छ । शुक्रबारदेखि लागु हुने घोषणा गरिएको सङ्कटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिनुभएको छ । 

सिमाना पार गरेर एक ठाउँबाट अर्को ठाउँ तर्फ जाने कार्यलाई नियन्त्रणका लागि देशव्यापी सङ्कटकाल घोषणा गर्नुपरेको उहाँको भनाई छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले सङ्कटकालको आवश्यकता भएको प्रधानमन्त्रीले बताउनुभएको छ । 

प्रधानमन्त्री आवेले यसअघि यही अप्रिल ७ मा केन्द्रीय राजधानी टोकियो र अन्य छ क्षेत्रमा मात्रै सङ्कटकालको घोषणा गर्नुभएको थियो । यी क्षेत्रहरुमा कोरोनाभाइरसको उच्च जोखिम भएकाले सङ्कटकाल लागु गरिएको थियो । 

प्रधानमन्त्री आवेले पहिलो चरणमा घर बाहिर भिडभाड नगर्न र घर भित्रै बस्न आम नागरिकलाई आह्वान गर्नुभएको थियो । तर त्यो आह्वान सन्तोषजनक रुपमा पालना नभएपछि उहाँले सङ्कटकालको घोषणा गर्नुपरेको हो ।  

उहाँले हरेक जापानी नागरिकलाई एक लाख जापानी येन नगद उपलब्ध गराउने घोषणा पनि गर्नुभएको छ । जापानमा कोरोनाभाइरसका कारण बिहीबारसम्म नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने १५० भन्दा बढीको मृत्यु भएको छ ।