उपचारमा संग्लन्न तीन चिकित्सक प्रहरीद्वारा कुटिए, छानविन समिति गठन

सफल खबर संवाददाता

विहीबार, ०४ बैशाख २०७७, ०८ : ५६

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (आईओएम) मा कार्यरत तीन चिकित्सक प्रहरीद्वारा कुटिएका छन् । डियुटी सकेर चिकित्सकहरु खाना खान अस्पतालवाट वाहिर निस्कीएका बेला  प्रहरीको कुटाईमा परेका हुन् ।

कोरोना (कोभिड–१९) को महामारीका बेला  सर्वसाधारणको उपचारमा उनीहरु खटिएका थिए । राष्ट्रिय आवासीय चिकित्सक संघले चिकित्सकहरु कुटिएको पुष्टि गरेको छ ।  ड्यूटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पताल (आईओएम) मा कार्यरत चिकित्सकमाथि महाराजगञ्जको कान्ती अस्पतालमा पछाडि ओरालोमा प्रहरीले हातपात र लाठी चार्ज गरेको विज्ञप्ति जारी गर्दै संघले आपत्ति जनाएको छ ।

‘परिचय पत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदा समेत लाठी चार्ज र गाली गलौज गर्ने प्रहरीलाई छानविनको दायरामा ल्याउन र कारबाही अगाडि बढाउन आह्वान गर्दछौं ।’ संघले जनाएको छ ।

डियुटीमै रहेका चिकित्सक कुटिएको घटनापछि महानगरिय प्रहरी आयुक्तको कार्यालयले घटनावारे छानविनका लागि समिति बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा  छानविन समिति बनेको हो । समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंह र महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी सदस्य छन् ।

समितिलाई तत्काल घटनाको अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न  प्रहरीले भनेको छ । स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्नुपर्ने, उनीहरुको सम्मानमा जुटनु पर्ने बेला मा प्रहरीद्वारा नै चिकित्सक कुटिएपछि चौतर्फै विरोध हुन सक्ने देखेर प्रहरीले छानविन समिति बनाएको हो । 

प्रतिक्रिया दिनुहोस