‘विरगंजमा फेला परेका कोरोना संक्रमित ४ महिना अगाडी नै आएका थिए’

बुधबार, ०३ बैशाख २०७७, ०७ : ३६
‘विरगंजमा फेला परेका कोरोना संक्रमित ४ महिना अगाडी नै आएका थिए’

file Photo

वीरगन्ज । वीरगन्जमा संक्रमित भेटिएका तीनजना भारतीय मुस्लिम धर्म प्रचारक (जमाती) ४ महिना अगाडि नै १४ जनाको समूहमा नेपाल प्रवेश गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साका अनुसार ३ जना संक्रमित भेटिएको उक्त टोली गत पुस २ मा विराटनगर नाकाबाट नेपाल प्रवेश गरेको थियो । उनीहरु पुस १ मा दिल्लीबाट ट्रेनमा प्रस्थान गरेका थिए ।

सुरक्षाकर्मी र प्रशासनका अधिकारीले गरेको अनुसन्धानपछि जिप्रका पर्साले मंगलबार साँझ सार्वजनिक गरेको ट्राभल हिस्ट्री (यात्रा विवरण) का अनुसार उक्त १४ जनाको टोली पूर्वी नेपालको विभिन्न जिल्ला घुम्दै फागुन ८ मा मात्र वीरगन्ज आएको थियो । यसअघि उक्त जमाती टोली पुस ४ देखि १० दिनसम्म सुनसरी दुहबीको जामे मस्जिदमा बसेको थियो । पुस १६ देखि फागुन १ गतेसम्म सुनसरीकै इनर्वास्थित तीनरचारवटा मस्जिदमा उनीहरु बसेका थिए । सप्तरीमा आयोजना भएको मुस्लिमहरुको धार्मिक सम्मेलन इस्तिमामा सहभागी हुन उनीहरु इनर्वाबाट फागुन २ मा पुगेका थिए ।

मुस्लिमहरुको धार्मिक भेला सम्पन्न भएपछि उनीहरु फागुन ८ मा वीरगन्जको सुगौली आएका थिए । ‘सुगौलीको मस्जिदमा बसेको बेला फागुन १४ गते अहिले संक्रमित भेटिएका एक व्यक्ति १४ जनाको समूहमध्ये एक जना जमातीलाई लिएर सीमावर्ती भारतीय बजार रक्सौल गएका थिए,’ जमाती व्यवस्थापन समितिका एक सदस्यलाई उद्धृत गर्दै सहायक प्रजिअ बस्नेतले भने, ‘उनीहरु रक्सौल गएर एटीएमबाट पैसा झिकेका रहेछन् ।’

वीरगन्ज महानगरपालिका–२६ सुगौलीस्थित विभिन्न ६ वटा मस्जिदमा उक्त जमाती टोली एक महिनासम्म बसेको थियो । एउटा मस्जिदमा ५ दिनको हिसाबले उनीहरु सुगौलीको ६ वटा मस्जिदमा एक महिना बसेर चैत ७ मा वीरगन्ज महानगरपालिका– १ बजार छपकैयामा रहेको मस्जिद पुगेका थिए । ‘भोलिपल्ट उनीहरु वडा १ कै छपकैयाको रहेको अर्को मस्जिदमा गएर ५ दिन बसेका थिए,’ बस्नेत भन्छन्, ‘त्यहाँबाट मात्र उक्त जमाती टोली महानगरपालिका–२ श्रीराम हल अगाडिको मक्की जामे मस्जिदमा आएका हुन् ।’ लकडाउन जारी भएको बेला चैत १३ मा उक्त धर्म प्रचारक टोली जामे मस्जिदमा प्रवेश गरेका थिए ।

नारायणी अस्पतालबाट मुस्किलले २ सय मिटरको दूरीमा रहेको उक्त मस्जिदबाट उनीहरु चैत २७ मा वडा २ का अगुवा राजनीतिकर्मीसँग ‘स्क्रीनिङ’का लागि आएका थिए । चिकित्सकले स्वाब संकलन गरी परीक्षण लागि त्यही दिन हेटौंडा पठाएका थिए । स्रोतका अनुसार चिकित्सकले क्‍वारेन्टाइनमा राख्ने सल्लाह दिए पनि ती राजनीतिक अगुवाहरुले जमातीलाई मस्जिदमै लगेका थिए । चैत २८ मा १४ मध्येका ३ जनाको स्वाब शंकास्पद देखिएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले त्यही राजनीतिक अगुवामार्फत मस्जिदबाट बोलाएर उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखेको थिए ।

हेटौंडाको प्रयोगशालाले शंकास्पद ३ जनाको स्वाब‘रि–कन्फर्मेशन’का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायो । आइतबार स्वास्थ्य मन्त्रालयले भारतको दिल्ली ६७ झुगी पण्डित रामप्रसाद बिसमिल क्याम्प निवासी ४५ वर्षीय, उत्तर प्रदेश बागपात जिल्लाका ५५ वर्षीय र दिल्लीकै ३७ वर्षीय भारतीय नागरिकमा कोभिड १९ संक्रमण पोजिटिभ भएको पुष्टि गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ पुष्टि गरेपछि स्थानीय सुरक्षा समितिले छपकैया र आसपासको क्षेत्रलाई आइतबार अपराह्नदेखि सिल गरेको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएकोहरुको खोजी गरिरहेको छ । ‘मक्की जामे मस्जिदका मौलाना अलि अस्गर लगायत १७ जना संक्रमितको सम्पर्कमा आएको देखिन्छ,’ सहायक प्रजिअ बस्नेतले भने, ‘यसमा केही छपकैयाका स्थानीय समेत छन् ।’ उनका अनुसार संक्रमितका सम्पर्कमा आएका तथा अन्य शंकास्पद व्यक्तिहरुमा कोभिड १९ को संक्रमण भए नभएको एकिन गर्न र्‍यापिड डाइग्नोस्टीक टेस्ट गरिएको छ ।

‘त्यस्ता ८१ जना व्यक्तिको परीक्षण गरिएको छ,’ उनले भने, ती सबैको रिर्पोट नेगेटिभ आएको छ ।’ बढी शंकास्पद देखिएका ८२ जनाको थ्रोट स्वाब संकलन गरी हेटौंडा परीक्षणका लागि पठाइएको उनले बताए । पर्सामा हालसम्म १ सय ८५ जनाको स्वाब संकलन गरी परीक्षण गर्न हेटौंडा पठाइएको छ । जसमध्ये ९४ जनाको रिपोर्ट आइसकेको छ । त्यसमा ३ जनामा मात्र कोभिड १९ पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस