सनसिटी अपार्टमेन्टमा रहेका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि

मंगलबार, ०२ बैशाख २०७७, १२ : ३३
सनसिटी अपार्टमेन्टमा रहेका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका तीन जनामध्ये दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक ९आमा० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए । पाँचवटा सनसिटी टावरमा करिव ५०० परिवारको क्षमता रहेको फ्ल्याट छन् ।

र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन ।

कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा ती तीन जनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो । उनीहरुलाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको छ ।