कोरोनो महामारी रोकथाम

स्वास्थ्य स्वयंसेविका परिचालन गर्न मन्त्रालयको निर्देशन

मंगलबार, ०२ बैशाख २०७७, ०७ : ५५
स्वास्थ्य स्वयंसेविका परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोनो महामारी रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य स्वयंसेविका परिचालन गर्न देशभरका स्थानीय तहलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको पत्रका आधारमा मन्त्रालयले स्थानीय तह मातहत रहेका महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्न पत्र पठाएको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिनुभयो ।

मन्त्रालयले पठाएको पत्रमा महिला स्वयंसेविकाको कार्यादेशसमेत उल्लेख गरिएको छ । कार्यादेशमा वडामा विदेशबाट आएका मानिसहरूको विवरण तयार गर्ने, उनीहरू होम क्वारेन्टाइनमा रहेको सुनिश्चित गर्ने, निजहरूको स्वास्थ्य स्थितिबारे सम्बन्धित स्वास्थ्य संस्थालाई दैनिकरूपमा प्रतिवेदन दिने भनिएको छ ।

त्यसै गरी, स्थानीय तहका क्वारेन्टाइनमा खटिने व्यक्तिहरूलाई क्वारेन्टाइनमा रहँदाको नियम पालना गर्न लगाउने भनेको छ । त्यसैगरी पहिचान भएका संक्रमितहरूको आइसोलेसन, नमुना संकलनमा सहजीकरण गर्ने कार्यादेशमा उल्लेख गरिएको छ । यसरी परिचालन गर्दा ती स्वास्थ्य स्वयंसेविकाहरूलाई स्थानीय तहमार्फत एकमुष्ट १ हजार ५ सय रुपियाँ उपलब्ध गराउने भनिएको छ ।

क्वारेन्टाइनमा राखिएका र भविष्यमा राख्ने व्यक्तिहरू १४ दिन क्वारेन्टाइनमा बसिसकेका व्यक्तिहरूको किड परीक्षण र निजहरू क्वारेन्टाइनमा बसेको वा नबसेको अनुमगन र सहजीकरण गर्ने काम पनि स्वास्थ्य स्वयंसेविकाहरूलाई दिइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस