मंसिर ५ मा गठबन्धन को चितवनमा आमसभामा : एक लाख कार्यकर्ता उतार्ने दाबी

आइतबार, ०३ मंसिर २०७४, १८ : ५२
मंसिर ५ मा गठबन्धन को चितवनमा आमसभामा : एक लाख कार्यकर्ता उतार्ने दाबी


चितवन । वाम गठबन्धन संयुक्त निर्वाचन परिचालन समितिले भरतपुरको केन्द्रीय बस टर्मिनल नजिक मंसिर पाँच गते मंगलबार आयोजना गर्न लागेको आमसभामा एक लाख कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको मृत्युपछि उक्त सभा समेत स्थगित गर्ने भनिएपनि केन्द्रीय कमिटिको सल्लाह अनुसार नै कार्यक्रम गर्ने भनिएको हो । ‘मंसिर ५ गते हुने भनिएको संयुक्त चुनावी सभा स्थगित गर्ने भनिएको भएपनि स्थगित नहुने भएको छ’ संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति चितवनका संयोजक अमिक शेरचनले भने, –‘अध्यक्ष कमरेड प्रचण्डको निर्देशन अनुसार अन्य पूर्व निर्धारित कार्यक्रमहरु यथावत रुपमा सञ्चालन हुने भएको छ ।’

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा देशव्यापीरुपमा संयुक्त वाम गठबन्धन अन्तर्गत चुनावी एकता गरेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका शीर्ष नेताले उक्त चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभामा व्यापक जनसहभागिताको लागि गाउँगाउँमा प्रचार कार्यलाई तिब्रतासाथ अघि बढाइएको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक अमिक शेरचनले जानकारी दिए ।

व्यापक जनसहभागितामा सम्पन्न हुने उक्त आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् । यसैगरी नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि आमसभामा बोल्नेछन् । संयुक्त चुनावी आमसभाको तयारी अन्तिम चरणमा पुगेको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक अमिक शेरचनले बताए ।
 

 

प्रतिक्रिया दिनुहोस