यमनी चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय

आइतबार, ३० चैत्र २०७६, २२ : ४१
यमनी चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय

साना । यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाद साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

पत्रकारहरू अब्देल खालेक अमरान, अकराम अल वालिदी, हारेथ हमिद र तफिक अल मन्सुरीलाई ‘देशद्रोह’ र ‘जासूसी’ गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको उनीहरूका वकीललाई उद्धृत गरी अरब न्यूजले उल्लेख गरेको छ ।

यमनी हुथी समूहले आफ्नो ‘सत्रु’सँग सहकार्य गरेको आरोप लगाइएका १० पत्रकारमध्ये मृत्युदण्डको सजाय सुनाइएका चार पत्रकारहरू कारबाहीको अग्र सूचीमा रहेका थिए । तर बाँकी छ जनालाई पनि सोही आरोपमा जेल सजाय तोकिएको र सजाय पूरा भएपछि रिहा हुनसक्ने फैसलामा उल्लेख गरिएको सबै पत्रकारको तर्फबाट बहसमा सहयोग गरेका वकीलहरूको समूहले बताएको छ । उनीहरूमाथि ‘भ्रामक समाचार’ लेखेर साउदी गठबन्धन सरकारलाई सघाएको अभियोग पनि लगाइएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेस्टिी इन्रनेशनलले गत वर्ष पत्रकारहरू माथि लगाइएको आरोप झुटो भएको बताएको थियो । एम्नेस्टी इन्टरनेशनलले विद्रोहीले थुनामा राखेका पत्रकारलाई कब्जामा लिएपछि पिट्ने, आवश्यक पिउने पानीसम्म नदिने र काठका ठूलाठूला मूढा उठाएर घण्टौँ उभिन लगाउनेजस्ता कठोर यातना दिनेगरेको बताएको थियो ।

हुथी समूहको नियन्त्रणमा रहेका १० मध्ये नौ पत्रकारलाई सन् २०१५ को जुन महिनामा सानाबाट कब्जामा लिएको र दशौँलाई सोही वर्षको अगस्टमा यमनी राजधानीबाट नियन्त्रणमा लिइएको थियो ।

हुथी विद्रोहीले यमनको सत्ता कब्जामा लिने लडाईको घोषणासँगै देशको उत्तरी भूभागसहित राजधानी सानालाई नियन्त्रणमा लिएपछि सन् २०१४ देखि गृहयुद्ध चलेको थियो । हुथीसमूहलाई इरानको सहयोग रहेको भन्दै उनीहरूविरूद्ध लड्न साउदी अरब नेतृत्वमा रहेको गठबन्धन सेनाले त्यहाँको सरकारलाई सघाउँदै आएको छ । (एएनआई)