कोरोना भाइरसको माहामारीकै बेला पुनः देखिन थाल्यो इबोला भाइरस

आइतबार, ३० चैत्र २०७६, १३ : ०६
कोरोना भाइरसको माहामारीकै बेला पुनः देखिन थाल्यो इबोला भाइरस

एजेन्सी । अहिले संसारभरि कोरोना भाइरसको माहामारीले विश्व मानवलाई त्रशित बनाइरहेको छ । 

तर यही बेलामा अफ्रिकी देश कंगोमा अर्को खतरनाक भाइरस इबोला पनि देखिएको छ । कंगो सरकारले देशलाई इबोलामुक्त भनी घोषणा गर्नै लागेको बेलामा हालैको दिनमा एकजना इबोलाकै कारण ज्यान गुमाउन पुगेका छन् । 

कंगो पहिलेदेखि नै विद्रोहीहरूको आक्रमणबाट जर्जर छ । अहिले कोरोना र इबोला दुई महामारीले पनि उसलाई सताइरहेका छन् । 

कंगोमा मार्च २७ मा एक युवकलाई इबोलाको लक्षण देखिन थाल्यो । उनलाई अस्पतालमा भर्ना गरियो र बिहीवार उनको मृत्यु भयो । 

सन् २०१८ को अगस्ट महिनापछि कंगोमा इबोलाले २२ सय ७६ जनाको ज्यान लिइसकेको छ । 

विश्व स्वास्थ्य संगठनले कंगोमा इबोलाका अन्य केसहरू पनि हुन सक्ने अनुमान लगाएको छ । 

इबोलाको लक्षण देखिएका रोगीलाई ज्वरो आउने, बान्ता आउने, छेर लाग्ने र रगत बग्ने समस्या हुन्छन् । अहिले फैलिएको महमारीमा संक्रमणग्रस्तमध्ये एकतिहाइको ज्यान गएको छ । 

सन् १९७६ मा पहिलोपटक इबोला भाइरस पत्ता लागेको हो । त्यसयता कंगोमा यस भाइरसका १० वटा आउटब्रेक भइसकेका छन् । सन् २०१३ देखि २०१६ को बीचमा इबोलाका कारण ११ हजारभन्दा बढी मानिसको ज्यान गएको छ ।