‘भारतमा लकडाउन देशव्यापी रुपमा लम्बिन सक्छ’

शुक्रबार, २८ चैत्र २०७६, २२ : २१
‘भारतमा लकडाउन देशव्यापी रुपमा लम्बिन सक्छ’

देहरादुन । भारतमा लगाइएको देशव्यापी २१ दिने लकडाउन लम्बिन सक्ने एक मुख्यमन्त्रीले शुक्रबार बताउनुभएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिबेन्द्र सिंह रावतले कोरोना भाइरस विरुद्धको लडाईलाई सफल पार्न लकडाउन लम्बिनसक्ने बताउनुभएको हो ।

“भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन्, मलाई विश्वास छ, यही अप्रिल १४ तारिखसम्मका लागि यस अघि घोषणा गरिएको लकडाउनको अवधि थपिने छ,” रावतले एएनआईसँग भन्नुभयो । उहाँले उत्तराखण्ड राज्य कोरोना भाइरसको सङ्क्रमणको विषयमा पहिलो चरणमै रहेको पनि जानकारी दिनुभयो ।

तबलिगी जमातबाट फर्किएकाहरूका कारण सङ्क्रमणको खतरा रहेपनि उनीहरु सम्पर्कमा आएको राज्यले उचित व्यवस्थापन गरिरहेको उहाँको भनाई छ । शुरुमा उनीहरुले अटेरी गरेपनि फौजदारी अभियोग लगाउने चेतावनी दिएपछि उनीहरु सम्पर्कमा आएर कोरोना नियन्त्रण सम्वन्धी नियमहरु अवलम्बन गरेको मुख्यन्त्री रावतले बताउनुभयो ।

“फर्किएकाहरुलाई सुरुमा सम्पर्कमा आउन र स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको थियो, त्यतिवेला उनीहरुलाई यो कुनै तपाईहरुको गल्ती नभई स्वास्थ्य समस्या हो, त्यसको उपचार गर्नु पर्दछ भनेका थियौँ,” उहाँले भन्नुभयो ।  त्यसपछि पनि आउन नमान्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिइएको मुख्यमन्त्री रावतले जानकारी दिनुभयो ।

आफ्नो प्रदेशमा दिनदिनै परीक्षणको कामहरु भइरहेको र दुई प्रकारको परीक्षण हुने गरेको उहाँले बताउनुभयो । “हामीसँग झण्डै दश हजार व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई किट्स० ३० हजार मास्क र २५७ भेन्टीलेटरहरु छन्,” उहाँले भन्नुभयो । अहिले आफुहरूलाई एन–९५ मास्कको थप आवश्यकता नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले अहिलेसम्म भेन्टिलेटर प्रयोग गर्नु नपरेकोमा आफुहरु भाग्यमानी भएको पनि बताउनु भयो । मुख्यमन्त्री रावतले उत्तराखण्ड राज्यमा अहिलेसम्म ३५ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको र ती मध्ये निको भएर घर फर्किसकेको जानकारी दिनुभयो । उत्तराखण्डमा कोरोना भाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको विवरण नआएको पनि उहाँले बताउनुभयो । (एएनआई)

प्रतिक्रिया दिनुहोस