कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा सुधार, आईसियूबाट निकालियो

शुक्रबार, २८ चैत्र २०७६, १० : १०
कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा सुधार, आईसियूबाट निकालियो

एजेन्सी । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार आएको छ । उनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

तीन दिनको आइसियू बसाइपछि स्वास्थ्यमा सुधार आएसँगै जोन्सनलाई बाहिर निकालिएको हो । तर पनि उनी अस्पतालमा भने रहने छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा सुधार नभएपछि गत आइतबार अस्पताल भर्ना गरिएको थियो ।

लण्डनको सेन्ट थोमस हस्पिटलमा उपचाररत उनको स्वास्थ्य गम्भीर भएपछि सोमबार आइसियूमा भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्य  अवस्थामा सुधार भएसंगै बिहीबार आइसियू बाहिर सामान्य वार्डमा सारिएको हो ।

 बिहीबार बेलुका वार्डमा सारिए पनि डाक्टरहरुले उनको सुधारको निगरानी गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री जोन्सनको आत्मबल अति उच्च रहेको जनाइएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आइसियूमा उनलाई अक्सिजन दिइए पनि भेन्टिलेटरमा भने राखिएको थिएन ।

जोन्सनको स्वास्थ्यमा सुधार आएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई अति खुशीको कुरा भन्दै थप शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म सात हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या ६५ हजार भन्दा बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस