कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्रीको अवस्था गम्भीर, आइसियूमा राखेर उपचार थालियो

मंगलबार, २५ चैत्र २०७६, ०८ : ३५
कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्रीको अवस्था गम्भीर, आइसियूमा राखेर उपचार थालियो

एजेन्सी । कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्ष (आइसियू) मा  राखेर उपचार थालिएको छ ।

कोरोना भाइरसका लक्षणहरु थप सघन बन्दै गएको र स्वास्थ्य अवस्था गम्भीर देखिएपछि उनलाई आइसियूमा सारिएको छ । प्रधानमन्त्री जोन्सनको मेडिकल टिमको सल्लाहमा उनलाई आइसियूमा सारिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । आफ्नो अनुपस्थितिमा सरकारका अत्यावश्यक कामहरु गर्नका लागि प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री डोमिनक राबलाई जिम्मेवारी दिएको उनको नेतृत्व सरकारको प्रवक्ताले बताएका छन् ।

५५ वर्षका जोन्सनलाई आइतबार बेलुका लण्डनको अस्पतालमा भर्ना गरिएको छ । कोरोना भाइरसका लक्षणहरु कम नभएपछि उनीलाई अस्पताल लगिएको थियो । तर स्वास्थ्य अवस्था थप कमजोर बनेपछि उनलाई आइसियूमा सारिएको हो ।

उनलाई भेन्टिलेटरमा भने राखिएको छैन । प्रधानमन्त्रीको कार्यालयले भनेको छ, ‘उहाँलाई लण्डनको सेन्ट थोमस हस्पिटलको डाक्टरको निगरानीमा रोखिएको छ । उहाँको अवस्था थप गम्भीर देखिएपछि मेडिकल टिमको सल्लाहमा आइसियूमा सारिएको हो ।’

लेबर पार्टीका नेता सर केएर स्टार्मरले प्रधानमन्त्री जोन्सनको स्वाथ्यलाभको कामना गरेका छन् । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जोन्सनको स्वाथ्यलाभको कामना गरेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री जोन्सनमा मार्च २७ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो । संक्रमण पछि उनी सेल्फ आईसोलेसनमा बस्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस