काठमाडौँ । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीलाई पिपिइ अत्यावश्यक काममा मात्र प्रयोग गर्न आग्रह गर्नुभएको हो ।
उहाँले पिपिइ धेरैले नभएकाले बिरामीलाई मात्र समुचित प्रयोग गर्न आग्रह गर्नुभएको हो । मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड– १९ को सङ्क्रमण दिनप्रतिदिन देखिन थालेकाले नमूना परीक्षणको दायरासमेत बढाइ क्वारेन्टाइन अवधि बढाइने जानकारी दिनुभयो ।
आज कैलालीमा दुई जना र कञ्चनपुरमा एक जना थप सङ्क्रमित देखिएका हुन् । कैलालीमा दुई जनामध्ये एक जना महिला पहिले सङ्क्रमित रहेको परिवारका सदस्य रहेको उहाँले बताउनुभयो । “ महिला बाहिर कहीँबाट आएको देखिँदैन । पहिले धनगढीमा देखिएको परिवारका सदस्य हुन्” उहाँले भन्नुभयो ।
उहाँका अनुसार सङ्क्रमण देखिएका तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उहाँले एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण बढ्न नदिन क्वारेन्टाइनमा बस्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय मानिसमा पनि सङ्क्रमण देखिएकोले क्वारेन्टाइनको अवधि बढ्ने बताउनुभयो । डा. देवकोटाका अनुसार अहिलेसम्म एक हजार ४४१ को नमूना परीक्षण भएको छ भने १५ जना काठमाडौँमा र ५४ जना उपत्यका बाहिर आइसोलेसनमा रहेका छन् । यसैगरी मन्त्रालयको दुई वटा कल सेन्टरमा आज मात्र तीन हजार ४६५ जनाले प्रश्न सोधेका छन् ।
यसैगरी मन्त्रालयको वेबसाइट र मोबाइल एपमा राखिएको कोभिड– १९ को फाराम आफैले भरेर पठाउने छ हजार ५२७ जनामध्ये १२६ लाई रेड जोनमा राखिएको छ । परीक्षणका क्रममा ती मानिसमा ज्वरो, रुघाखोकी आउने गरेको उहाँले बताउनुभयो । यसैगरी चितवन र बुटवलमा भोलि आइतबारदेखि कोभिड– १९ परीक्षण गरिनेछ । जनकपुर, हेटौँडा, धरान, पोखरा, धनगढी र सुर्खेतबाट यसअघि नै परीक्षण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ चैत्र २०७६, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
सार्वजनिक बिदामा पनि बहिरंग सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन
१७ अस्पतालले पठाए ९ बुँदे निर्देशनको प्रगति विवरण
केन्द्रीय अस्पताललाई तत्काल विस्तारित सेवा सुरु गर्न मन्त्रालयको निर्देशन
५२ वटा रोग ‘सङ्क्रामक रोग’को सूचीमा समावेश